देउवा सरकारलाई समर्थन गर्न ओली तयार - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

देउवा सरकारलाई समर्थन गर्न ओली तयार



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन भत्किने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाहिरिए नेकपा एमालेले सरकारलाई समर्थन गर्ने बचन दिएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बाहिरबाट समर्थन गरिदिने आश्वासन दिएको एमालेकै एक नेताले बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई यसबारे जानकारी पठाइसकेको ति नेताले बताए ।

ओलीले बालुवाटारलाई खबर पठाउँदै एमाले सरकार बनाउने लाइनमा छैन देउवाकै सरकार रहोस्, एमाले सहयोग गर्न तयार भएको बताएका छन् ।

माओवादी केन्द्रले बुधबार नै एमसीसी जबर्जस्ती अघि बढाउन खोजेमा सरकार छाड्ने निर्णय गरिसकेको थियो। सत्तारुढ गठबन्धनमै रहेको दोस्रो घटक माओवादीले सडकमा हिजै आक्रोश पनि पोखिसकेको छ।

बालुवाटार स्रोतका अनुसार, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिनुअघि प्रधानमन्त्री देउवासमक्ष भनेका थिए, “अब कुरो मिलेन। भोलि फेरि गठबन्धनको बैठक बसी सल्लाहमै हार्दिकतापूर्वक छुट्टिउँला।”

एमालेले देउवा सरकारलाई समर्थन कुन शर्तमा दिन्छ त ? नेम्वाङले भने, “अनेक बद्मासी गर्नु भएन। समयमै सबै निर्वाचन गराऊ। निर्वाचनमा जाऊँ, जनताले जसलाई आशीर्वाद दिन्छ, उसले सरकार चलाउँछ। एउटा प्रणाली बसाऊँ भन्ने हो हाम्रो।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन जोगाउन दिलोज्यानले लागिपरेका छन्। एमसीसीले नै चुनावपछि मात्र एमसीसी पारित गरे हुने भन्दै समयावधि पुनः बढाएमा बाहेक सत्ता–गठबन्धन जोगिने संभावना कम देखिन्छ।

त्यस हिसाबले हेर्दा सत्तारुढ गठबन्धन निकै जोखिमपूर्ण अवस्थामा पुगेको छ तर प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन सञ्चालन गर्न निकै सिपालु रहेकाले एमाले नेताहरू अझै पनि गठबन्धन टुटिहाल्यो भन्ने अवस्थामा पुगिहाल्यो भन्ने अवस्थामा नपुगेको बताउँछन्।

प्रधानमन्त्री देउवाले अमेरिकी दबाबको अगाडि माओवादी अध्यक्ष प्रचण्डले भनेको मानिहाल्लान् भन्ने अनुमानचाहिँ गर्न सकिँदैन। त्यसैले एमसीसीको खेलमा आफूलाई तटस्थ राखेको दाबी गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली पुनः राजनीतिको केन्द्रमा आइपुग्ने सम्भावना बढेको छ।

प्रचण्ड र नेपाललाई सत्ताबाट बाहिर निकालेर ९८ सीट भएको एमालेको समर्थनमा ६१ सीटमात्र भएको देउवालाई प्रधानमन्त्रीमा टिकाइराख्ने खेल ओलीको तटस्थताभित्र लुकेको छ।