ओलीले दिउसै बालुवाटार छाड्ने, देउवा साँझ मात्रै प्रवेश गर्ने
काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीको रुपमा मंगलबार साँझ ५ बजे सपथ लिने भएका छन् । उनले मंगलबार साँझ शीतल निवासमा शपथ ग्रहण गर्ने तय भएको बताइएको छ ।
राष्ट्रपति कार्यालयले मंगलबार साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन देउवा निवासमा जानकारी गराइसकेको छ । राष्ट्रपति कार्यालयले सुचना पठाइसकेको स्रोतले बताएको छ । तर देउवा प्रधानमन्त्री बन्ने लाग्दा गठबन्धनमा रहेको माधव नेपाल समुहले भने साथ् छाड्ने भएको छ ।
माधव नेपाल समुहले साथ् नदिने भएपछि देउवाले विश्वासको मत नपाउने पक्का छ । यसअघि ओलीले संसद विघटन गरेपछि देउवालाई प्रधानमन्त्री बनाउन अस्ताक्षर गरेका नेपाल समुहले आगामी सरकारमा भने भाग नलिने भएका छन् ।
ओलीले दिउसै बालुवाटार छोड्ने
केपी शर्मा ओलीले भने नयाँ प्रधानमन्त्रीको सपथ नहुँदै बालुवाटार छोड्ने भएका छन् । ओलीको सबै सामान आजै साँझदेखि प्याकिङ गर्न थालिसकेको बताइएको छ । मंगलबार दिउसो १२ बजेभित्रै उनले बालुवाटार छाड्ने तयारी गरेको बताइएको छ ।
बालुवाटार छाडेर ओली बालकोटस्थित आफ्नै घर जाने भएका छन् । सुरक्षा स्रोतका अनुसार बालुवाटारमा सामान प्याक गर्ने काम धमाधम चलिरहेइको छ ।
शितलनिवासमा एमालेका नेताहरू छलफलमा
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री ओली फर्के लगत्तै एमाले महासचिव ईश्वर पोखरेल त्यहाँ पुगेका थिए । साँझ शीतल निवासबाट ओली फर्केपछि एमाले महासचिव पोखरेल केहीबेर त्यहिँ बसेर छलफल गरेका थिए । उनले छलफल गरेकै बेला एमाले नेता महेश बस्नेत बित्यासै पर्यो भन्दै शीतलनिवास पुगेका थिए । पोखरेल र बस्नेतले राष्ट्रपति भण्डारीसँग लामो सामूहिक छलफल गरेका थिए ।
शीतलनिवासमा पहिले ओली त्यसपछि पोखरेल त्यसपछि बस्नेत पुगेका थिए । सबै नेता बालुवाटारमा राती नौ बजेसम्म बसे पनि पोखरेल र बस्नेत भने शीतलनिवासमै थिए ।