के प्रधानमन्त्री ओलीले नै देश बदनाम गराएका हुन् ? - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

के प्रधानमन्त्री ओलीले नै देश बदनाम गराएका हुन् ?



धरान : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले प्रधानमन्त्री केपी ओलीका कारण देशको बदनाम भएको आरोप लगाएका छन्।

कांग्रेसले आयोजना गरेको जागरण अभियानलाई सुनसरीको धरानमा शनिबार सम्बोधन गर्दै ओली प्रधानमन्त्री भएयता गणतन्त्र नै धरापमा परेको नेता आचार्यले आरोप लगाए।

ओली प्रधानमन्त्री भएपछि स्वतन्त्र न्यायपालिका, राष्ट्रिय मानव अधिकारको क्षेत्रअधिकारमाथि हस्तक्षेप गर्नुका साथै स्वतन्त्र प्रेसलाई अंकुश लगाउने गरी मिडिया काउन्सिल विधेक दर्ता गराई देशको बदनाम गराएको नेता आचार्यले आरोप लगाए।

उनले स्वतन्त्र न्यायपालिकामा नेकपाका नेता कार्यकर्तालाई न्यायाधीशमा नियुक्त गरेकोमा आपत्ति जनाए। ओलीले प्रतिपक्ष दलका नेताको उपस्थितबिना न्यायाधीश नियुक्त गरेको भन्दै प्रधानमन्त्री ओलीले संविधानको उलंघन गरेको बताए।

सभालाई कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइरालाले सरकारले धरान उपमहानगरपालिकाको रिक्त मेयर पदको उपनिर्वाचन नगरेका कारण धरानको सिंगो विकासका काम प्रभावित बनेको बताए।

उनले धरानका मेयर तारा सुब्बाको निधनका कारण उपमेयर मञ्जु भण्डारीले जनभावना अनुसार काम गर्न नसक्दा धरानबासी खानेपानीको सुविधाबाटसमेत धरानबासी बञ्चित भएको भन्दै आपत्ति जनाए।