ओलीले प्रधानमन्त्री मागेपछि हच्किए देउवा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

ओलीले प्रधानमन्त्री मागेपछि हच्किए देउवा



बिहीवार संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बानेश्वरस्थित संसद भवनमा छलफल भएको थियो ।

अमेरिकी सहायता परियोजना (एमसीसी)को विपक्षमा गठबन्धनकै दलहरू लागेपछि देउवा पछिल्लो समय ओलीसँगको भेटघाटलाई बढी महत्त्व दिन थालेका छन् ।

ओलीले भने सत्तारूढ गठबन्धन तोडेर आए मात्र सहकार्य हुने शर्त राखेको समाचारहरूमा पढ्न र सुन्न पाइन्छ ।

सरकार बनेयता बिग्रिएको देउवा-ओली सम्बन्ध पछिल्लो महिना दिनदेखि नियमित भेटघाटमा परिणत हुन थालेको छ । तर देउवा भने गठबन्धन तोड्न इच्छुक देखिएका छैनन् ।

एमसीसी पारित गर्नकै लागि देउवाले सत्तारूढ गठबन्धन तोड्ने चाहना नराखेको स्रोत बताउँछ ।

देउवा ओलीसँग सहकार्य गर्न हच्किरहेका छन् । त्यसको मूल कारण भने अर्कै छ – वान टू वान वार्तामा ओलीले प्रधानमन्त्री आफू बन्नुपर्ने माग राख्ने गरेका छन् ।

नेकपा एमालेबाट निष्काशित १४ सांसद (हाल एकीकृत समाजवादी)लाई कारवाही गर्नुपर्ने, सभामुख अग्नि प्रसाद सापकोटाले राजीनामा गर्नुपर्ने र नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग ओलीले राख्न थालेपछि देउवा हच्किएका हुन् ।

प्रधानमन्त्री देउवालाई एमसीसी जसरी पनि पास गर्नुपर्ने दबाब छ । तर एमसीसीबारे छलफल गर्न आज बोलाइएको प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । देउवाले नै सभामुखलाई आग्रह गरेर बैठक स्थगित गराएको चर्चा चलेको छ ।

देउवाका लागि प्रचण्ड-नेपालसँगको गठबन्धन नै कम्फर्टेबल हुने तर एमसीसी जसरी पनि पास गर्नुपर्ने अमेरिकाको दबाबपछि देउवाले गठबन्धनमा पुनःविचार गर्न सकिनेसम्म ओलीलाई बताउने गरेका छन् ।

राष्ट्रिय मुद्दा बनेको एमसीसीलाई ओलीले कुर्चीको बार्गेनिङमा सिमीत गरेको कांग्रेसकै नेताहरूको आरोप छ ।

हिमालपोस्टले कांग्रेसका एक सांसदलाई सोधेको थियो, ‘ओलीसँगको गठबन्धन कहिले बन्छ ?’

जवाफमा उनले भने, ‘एमसीसीमा सत्तारूढ दलले नै साथ नदिने भएपछि प्रतिपक्षीको साथ खोज्नुपर्छ । तर एमालेका अध्यक्ष ओलीले सरकारकै नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेको बुझिएको छ । ओलीलाई नै सत्ता सुम्पिन अहिले गाह्रो छ । एमालेले राष्ट्रिय मुद्दा बनेको एमसीसीलाई कुर्चीको बार्गेनिङ गर्ने टूल बनाइरहेको छ ।’