काम नपाएका झुण्डले राजिनामा मागे: प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियताको डरले आफ्नो राजीनामा मागिएको बताएका छन् । उनले सरकारको लोकप्रियतासंग डराएर राजिनामा मागिएको भन्दै वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्।
ताप्लेजुङको फक्तालुङ् गाउँपालिकाको वडा नं ६ लेलेपको दुर्गम स्थान घुन्सामा सोमवार आयोजित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन तथा स्थानीय समुदायसंगको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्थित्व समाप्त हुन्छ भन्ने पीरले कहिले पार्टी नेतृत्वबाट र कहिले सरकारबाट राजीनामा मागिएको बताए।
प्रधानमन्त्री ओलीले सरकारले काम गरेन भन्नेहरुलाई ‘काम नपाएका र अस्थिरता चाहनेहरुको झुण्ड’ भएको बताएका छन् ।
देशको प्रगति हुन्छ भनेर आत्तिएकाहरुले मात्र आफ्नो राजीनामा मागेको भन्दै प्रधानमन्त्री ओलीले गुमेको जमिन फिर्ता गर्ने जस्ता लोकप्रिय काम गरेको सरकारले अरु विकास र समृद्धिका काम नगरोस् भन्न चाहनेहरुले आफ्नो राजीनामा मागेको बताए।
‘तपाईहरु यहाँ राजनीतिककर्मी पनि हुनुहुन्छ होला, सत्ताको नेतृत्व गरिरहेको हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केहि काम गर्न सकेन भन्ने जस्ता बिभिन्न लाल्छना आइरहन्छन्’ प्रधानमन्त्री ओलीले भने ‘त्यो सरकारको प्रगतिबाट आत्तिएका र केहि काम नपाएकाहरुबाट भएको हो।’
उनले सरकार कुनै पनि हालतमा नढल्ने भएकाले देश र जनताको पक्षमा काम गरिरहने दोहोर्याए। संक्षिप्त सम्बोधन गरेका उनले सरकारको पूर्णतया बचाउ गरेका छन्। उनले बर्तमान सरकार जनताका पक्षमा निरन्तर र अडिग ढंगले चलिरहनेमा शंका नगर्न आग्रह समेत गरेका छन्।
प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका सीमा क्षेत्रको एकदिने भ्रमणमा पुगेका छन् । ओलीका साथमा संबिधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेशकुमार भट्टराइ र १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राइ लगातको टोली घुन्सा आएको छ। त्यहाँ प्रधानमन्त्री ओलीले घुन्सा फाउण्डेसनद्धारा स्थापित वेभसाइट शुभारम्भ समेत गरेका छन्।
पार्टीभित्र आन्तरिक संघर्ष चलेकै र प्रधानमन्त्री ओलीकै कार्यशैलीमाथि गम्भीर प्रश्न उठिरहेका बेला उनले यस्तो सम्वोधन गरेका हुन् ।