ओली–दाहाल बैठक टुंग्यायो ,पार्टी एकता संयोजन समितिको बैठकमा आजै हस्ताक्षर हुने - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

ओली–दाहाल बैठक टुंग्यायो ,पार्टी एकता संयोजन समितिको बैठकमा आजै हस्ताक्षर हुने



काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक, नीतिगत विषय टुंगिएको छ । र, आजै साँझ ७ बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा हस्ताक्षर हुने भएको छ ।

आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको पाँच घण्टा लामो छलफलले एकताको नीतिगत मोडालिटी टुंग्याएको र त्यसलाई अन्तिम रूप दिने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

सोमबार पनि दुई अध्यक्षबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पार्टी एकता र सरकार गठनका विषयमा सहमति जुटेको र त्यसलाई बेलुका अन्तिम रूप दिइने पोखरेलले जानकारी दिए ।

“दुई अध्यक्षबीच भएको समझदारीमा सम्भवतः हस्ताक्षर हुनेछ,” महासचिव पोखरेलले भने, “एकताका विषयमा धेरै कुरा टुंगिइसकेको छ ।”

पार्टी एकताका विषयमा संगठनात्मक र नीतिगत समझदारी दुई अध्यक्षबीच भइसकेको र साँझ पार्टी एकता संयोजन समितिको बैठक डाकिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेत अधिकारीले जानकारी दिए ।

आज दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएपश्चात मंगलबार रामबहादुर थापा ’बादल’को नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने बताइएको छ । ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा जान इच्छुक रहेको बताइएको छ ।

यसअघि एमालेसँग मूर्त सहमति नभएको र प्याकेजमै सहमति हुनुपर्ने बताउँदै माओवादी सरकारमा जान मानेको थिएन । यी सवै विषय सोमबार साँझ बस्ने बैठकले ‘ब्रेक थ्रु’ गर्ने अपेक्षा राखिएको छ ।