आज सकिँदैछ प्रधानमन्त्री ओलीको ‘काउन्टडाउन’
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदललाई अनुमोदन गर्न आजका लागि सचिवालय बैठक बोलाएको छ ।
बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको सचिवालय सदस्य एवम पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । सचिवालय बैठकले नेकपा विवाद सुल्झाउन गत शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने नेता खनालले बताए ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यसअघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ५ दिनभित्र नेकपाको समस्या समाधान गर्ने बताएका थिए । उनले दिएको समय आज सकिँदैछ ।
कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग थियो । अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर उनीहरूले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने र नेकपा सचिवालयमा रहेका पूर्वप्रधानमन्त्री बाहेकका सबै सदस्य मन्त्रिपरिषद्मा जाने चर्चा पनि चलेको छ । सचिवालय बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा डाक्टर भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य रहेको कार्यदल बनाइएको थियो ।
कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री ओली निकट, शर्मा र भुसाल प्रचण्ड निकट तथा पाण्डे र रावल नेपाल निकट मानिन्छन् । कार्यदलको पहिलो बैठक शनिबार बसेको थियो ।