नेपाललीहरू कोरोनाले मरेकै होइनन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

नेपाललीहरू कोरोनाले मरेकै होइनन: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोहीपनि कोरोनाले नमरेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरुलाई जवाफ दिदै प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नियमका कारण अन्य रोगले मृत्यु भएकालाई पनि कोरोना संक्रमितमै राख्नुपरेको बताएका छन्।

“विश्व स्वास्थ्य संगठनको नियमका कारण मृत्यु संख्या मान्नु परेको हो। विभिन्न कारणले मृत्यु भएकालाई पनि मान्नु परेकाले मात्रै यति पुगेको हो। हाम्रोमा मर्नेहरुको संख्या अति न्यून हो”, प्रधानमन्त्री ओलीले भने। डब्लुएचओकै नियमका कारण मात्रै नेपालमा मृत्यु हुनेको संख्या २० पुगेको उनले बताए।

परीक्षण गराउने, रोकथाम गर्ने र संक्रमित संख्या कम देखिनेमा नेपाल विश्व थुप्रै देशहरु भन्दा राम्रो भएको प्रधानमन्त्रीले बताए। “प्रति दश लाखमा १३ हजार परीक्षण दर छ। दक्षिण एसियामा भुटान भन्दा पछाडि हामी नै माथि छौं”, प्रधानमन्त्रीले भने।

नेपालमा संक्रमित संख्या समुदाय स्तरमा फैलिने नभएर भारतबाट आएकाहरुमा देखिएको बताए। “आउनेहरुको संख्या ठूलो छ। संक्रमित भएर आउनेहरुको संख्या ठुलो छ”, प्रधानमन्त्री ओलीले भने।

नेपालमा संक्रमित भएको भन्दा पनि भारतबाटै संक्रमित भएर आएको बताए। प्रधानमन्त्री ओलीले चैत यता नेपालमा भारतबाट भित्रिएकाहरुको संख्या प्रस्तुत गरे।

चैतमा भारतबाट १२ हजार ६५७, वैशाखमा एक हजार ७९९, जेठमा दुई लाख ४१ हजार ८६२, असारको तीन दिनमै सात हजार बढी आएको बताए। नेपालमा दैनिक ४५ सयको हाराहारीमा मात्रै परीक्षण भएको र भारतबाट धेरै आएकाले समस्या भएको बताए।

“बाहिरबाट भन्न सजिलो छ। तर, यति ठूलो संख्यामा आएकालाई बस्ने क्वारेन्टिन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र खानपिनको प्रबन्ध मिलाउन सजिलो छैन”, प्रधानमन्त्री ओलीले भने। अन्य देशबाट परीक्षण गरेर ल्याए पनि भारतबाट संभव नहुने बताए।

स्थानीय सरकारहरुले एउटा उपमहानगर पालिका बराबरको जनसंख्या व्यवस्थापन गर्नु सामान्य कुरा नभएको बताए। बेसार प्रयोग गर्न दिइएको सुझाबको आलोचना गरिएको भन्दै प्रधानमन्त्री ओलीले बेसारको उपयोगबारे समेत निकै लामो चर्चा गरे।