'समृद्ध नेपाल, सुखी नेपाली' अभियानमा कोरोना बाधक बन्यो: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा कोरोना बाधक बन्यो: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै बेला विश्वव्यापी महामारी कोभिड-१९ को सामना गर्नु परिरहेको बताएका छन् ।

काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले उक्त कुरा बताएका हुन् ।

‘यतिबेला हामी मुलुकको आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै समयमा विश्वव्यापी महामारी कोभिड–१९ सामना गरिरहेका छौं । यसले हाम्रो स्वास्थ्य र आर्थिक तथा सामाजिक जीवनमा अकल्पनीय दुष्प्रभाव पारेको छ,’ उनले भनेका छन्, ‘समृद्ध नेपाल–सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षामा यसले केही अवरोध गरेको छ ।’

यस महामारीका दुष्प्रभावहरुलाई छिचोलेर सवल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकार अग्रसर रहेको उनले बताएका छन् । ‘महामारीबाट सुरक्षित हुँदै राष्ट्रको यस आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु,’ प्रम ओलीले भनेका छन् ।

‘अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने यस्ता पर्वहरु हाम्रा सांस्कृतिक पूँजी हुन्,’ उनले भनेका छन्, ‘सानो भूगोल भए पनि यहाँ बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक अनुपम विशेषतायुक्त चाडपर्वहरु छन् । ती सबै पर्वहरु हामीलाई एक आपसमा जोड्ने साँस्कृतिक पूँजी हुन् ।’

विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने यस्ता चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेका प्रम ओलीको ठहर छ । ‘सरकारले यस्ता साँसकृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको छ । नेपालीहरु बीचको यस्तो एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई हामीले यही साँस्कृतिक आलोकमा परास्त गर्दै आएका छौं,’ उनले भनेका छन् ।