ओलीले एक्लै चुनाव जित्ने - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

ओलीले एक्लै चुनाव जित्ने



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई निर्वाचनमा आफ्नो दल एक्लैले पराजित गर्ने बताएका छन्। पार्टीनिकट महिलाको संगठन अनेम संघको पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै गठबन्धन दलको समूहसँग भिड्न एमाले एक्लै पर्याप्त रहेको बताएका हुन्।

‘गठबन्धन दलहरूलाई एक्लाएक्लै चुनावमा गए एमालेले कर्‍याककुरुक बनाउनेछ। एक्लाएक्लै आए भने त कर्‍याकमर्‍याक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्‍याककुरुक बनाउँछौं’, ओलीले भने। उनले एमालेप्रति जनताको आकर्षण बढिरहेको, दिनदिनै एमाले प्रवेशको लहर चलिरहेको तथा अन्य पार्टीबाट जनप्रतिनिधि नै एमालेको पक्षमा लागिरहेका कारण एमाले बलियो भएको बताए।

‘मैले यो हौसिएर बोलिरहेको छैन, हेर्नुस् न दिनदिनै एमाले प्रवेशको लहर चलिरहेको छ। स्थानीय तहमा पहिलाको भन्दा धेरै बढी जित हासिल गर्छौं। ६० प्रतिशत स्थानीय तहमा एमालेले निर्वाचन जित्नेछ’,ओलीले भने।

अन्य दलहरूले अप्ठेरो छ, गाह्रो छ भनिरहेको उल्लेख गर्दै ओलीले आफूहरूलाई जनताको माझमा जान अप्ठेरो नभएको बताए।

‘हामीलाई गाह्रो केही पनि छैन। हामी चुनावमा भाग लिन्छौं, गठबन्धनविरुद्ध लड्न सक्छौं’, उनले भने।

अध्यक्ष ओलीले अरू ससाना समूहमा रहेका र गठबन्धनका सबै एकातिर, एमाले एकातिर हुँदा पनि एमालेकै तौल बढी हुने दाबी गरे। उनले हाल सत्तामा रहेका दलका नेताहरू एमालेमा प्रवेश गर्न आतुर रहेको र स्थानीय तहमा उनीहरूलाई व्यवस्थापन गरिने बताए।