‘ओलीले बालुवाटारमा बंकर बनाएर चोलेन्द्रसँग योजना बनाउँथे’
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारवादी प्रवृत्ति सत्तामा पुगेपछि फस्टाएर गएको टिप्पणी गरेका छन् ।
पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले बालुवाटारमा हुँदा ओलीले बंकर बनाएर प्रधानन्यायाधीश चोलेन्द्रसँग बारम्बार भेट्दै संसद विघटन र त्यसपछिका योजना तयार पारेको दाबी गरेका छन् ।
उनले भने, ‘संसद विघटन गर्छु भन्ने ओलीको दिमागमा पहिलेदेखि थियो, बालुवाटारमा बंकर बनाएर ओली चोलेन्द्रसँग बारम्बार भेट गर्थे । कुन न्यायाधीशलाई कहा-कहाँ पुर्याउने, कोही बोल्यो भने अदालत आफ्नै छ निर्वाचन आयोग आफैं छु । सम्पत्ति शुद्धीकरण लगाउँछु, साइबर स्याल लगाउँछु र तह लगाउँछु भन्ने उनको योजना थियो ।’
सम्बोधनको अधिकांश समय ओलीविरुद्ध खर्चिएका नेपालले मुलुकमा परिवर्तन ल्याउने उद्देश्यभन्दा पनि हावादारी कुरा गरेर वरिपरि ‘एस म्यान’ राखेर कम्युनिष्टहरूको आवरणमा तानाशाही निस्किएको टिप्पणी गरे ।