ओलीसँग छलफल गर्न प्रचण्डलाई दवाव - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

ओलीसँग छलफल गर्न प्रचण्डलाई दवाव



काठमाडौं- प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन प्रचण्डले पहल गर्नुपर्ने भन्दै सदस्यहरूले दवाव दिएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई दिएपछि छलफलका लागि प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटीको बैठक जारी छ।

पार्टी कार्यालय पेरिसडाँडामा चलिरहेको बैठकमा एकता अगाडिको अवस्थामा फर्किने विषयमा भन्दा पनि पार्टी एकतालाई कसरी जोगाइ राख्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको नेता रघुजी पन्तले जानकारी दिए।

‘फैसलाबारे चर्चा भयो। फैसला बढि राजनीतिक भयो। एकता आफैमा राम्रो थियो। एकता जोगाउन सकिने भए र प्रचण्ड र ओलीले सम्भावना को खोजी गर्ने बारे मैले धारणा राखे,’ पन्तले भने।

सर्वोच्चको फैसलाले निर्वाचन आयोगको ‘नेकपा’ दर्ता गर्ने निर्णयलाई बदर गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत रुपमा मान्यता राखिदिएपछि अहिले फेरी राजनीतिक कोर्स परिवर्तन भएको छ।

उनले एकता गर्न सकिने कुनै ठाउँ भए पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच छलफल हुनुपर्ने धरणा आफूले राखेको उनले जानकारी दिए। यसअघि पनि यो समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एकताको विषयमा छलफल हुने र वाम सरकार बनाएर अगाडि बढ्ने विषयमा छलफल हुने बताएका थिए।

सर्वोच्चको फैसलापछि केपी ओली पक्षधरहरुले नेकपा एमाले भएको भन्दै खुसियाली मनाएका छन् भने कतिपय जिल्लाका पार्टी कार्यालयमा नेकपा (एमाले)को बोर्ड झुण्ड्याइसकेका छन्। अर्को तर्फ प्रचण्ड-माधव नेपालमा समूहमा रहेका पूर्व एमालेका नेताहरु असमन्जसमा छन्।