मन्त्रिमण्डलमा ओलीसहित पाँच जना मात्रै: बिष्णु पौडेल यथाबत
काठमाडौं-सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद जम्मा पाँच सदस्यीय बनाइदिएको छ । सर्वोच्च अदालतले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि यस्तो अवस्था आएको हो ।
अदालतले अन्तरिम आदेश दिएसँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच सदस्यीय मन्त्रिमण्डल कायम भएको हो । सर्वोच्चले पछिल्लोपटकको मन्त्रिमण्डल पुनर्गठनका क्रममा थपिएका २० मन्त्रीहरुलाई पदमुक्त हुने आदेश दिएको हो ।
पुनर्गठनका क्रममा साविकका ४ जना मन्त्रीलाई मात्रै निरन्तरता दिइएको थियो । ती मन्त्रीहरु सरकारमा यथावत रहनेछन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडल, भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन हुँदा अर्थमन्त्री विष्णु पौडेलले उपप्रधानमन्त्रीको सपथ खाएका थिए । सर्वोच्चको आदेशमा पौडेल उपप्रधानमन्त्रीकै रूपमा कायम रहने उल्लेख छ ।
यससंगै सर्वोच्चले चुनावी कामचलाउ सरकारको अधिकारको पनि व्याख्या गरेको छ ।