ओलीविरुद्धको मोर्चा: जसपाले निर्णय दिए तत्काल अविश्वास प्रस्ताव
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको छ । उक्त सहमति अनुसार जनता समाजवादी पार्टीसंग संवाद भैरहेको बताइएको छ । तीन दलले सहमति गरेर ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भएको बताइएको छ ।
सोहि तयारी अनुसार जनता समाजवादी पार्टीका शिर्ष नेताहरू बिहानैदेखि बैठक बसिरहेका छन् भने माओवादी केन्द्रले स्थायी कमिटि बैठक बोलाएको छ ।
सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा यस विषयमा सहमति बनेको हो । तर, उनीहरुले जनता समाजवादी पार्टी, नेपालको निर्णयलाई पर्खने भएका छन् ।
कांग्रेस सभापति देउवाले यो बीचमा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नियमित छलफल गरेका छन् । भने जसपाकै नेताहरू महन्त ठाकुर र राजेन्द्र महतोसंग पनि देउवाको संवाद भएको स्रोतको दाबी छ । यादव र भट्टराई जसरी पनि प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने पक्षमा छन् । त्यस्तै अध्यक्ष ठाकुर र महतो भने प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढ्नुपर्ने अडानमा थिए ।
पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा रहेका उनीहरू देउवाको पनि सम्पर्कमा रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले पनि जसपाका कतिपय मागहरु पूरा गर्ने तयारी थालेको तत्काल सम्भव नभएको देखिएपछि जसपाका अन्य नेताले पनि क्याम्प परिवर्तन गरेको चर्चा छ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुले देउवा निवासमा यसअघि पनि सत्ता समिकरणको विषयमा छलफल गरेका थिए । जसपाका नेताहरुले केही दिनको समय मागेकोले त्यतिवेला ठोस सहमति हुन सकेको थिएन । अब जसपा लामो समय अनिर्णयको बन्दी बन्न नहुने भन्दै पार्टीभित्रैबाट नेता तथा कार्यकर्ताहरुले दबाब दिएपछि आज जसपाका शीर्ष ६ नेताहरुको बैठक बसेको छ ।
जसपाले अविश्वासको प्रस्ताव ल्याउन सहमति जनाए आज नै अविश्वासको प्रस्ताव तयार पारिने स्रोतले बताएको छ । कांग्रेसले पनि केन्द्रीय कार्यसमितिको बैठक भोलिको लागि डाकेको छ ।