ओलीविरुद्ध अध्यक्षमा उठ्ने भीम रावलको घोषणा - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

ओलीविरुद्ध अध्यक्षमा उठ्ने भीम रावलको घोषणा



धनगढी- नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला पुगेका रावलले साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कार्यकर्ताको भावनाअनुसार आफू पार्टीको दशौँ महाधिवेशनमा अध्यक्षमा लड्ने तयारीमा जुटेको बताए। रावलले एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्ने बताउँदै गृहजिल्लामा कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उचित होला ? भनेर सोधे। त्यसपछि कार्यकर्ताहरूले अध्यक्षमा उठ्नुपर्ने बताए।

त्यसपछि रावलले भने, ‘तपाईंहरु जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छु। तपाईंहरुजस्तै थुप्रै कार्यकर्ताले अध्यक्षमा उठ्नुपर्ने भनेका छन्। तपाईंहरुले पनि त्यही भन्नु भएको छ। तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ।’ उनले कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरे।

उनले अर्को सन्दर्भमा पार्टीले गम्भीर समस्या सामना गर्दै यहाँसम्म आइपुगेको पनि बताएका छन्। ‘एमाले र माओवादीबीच एकता भएको थियो। तर, नेकपा भंग गर्न ठूलो षडयन्त्रको जाल बुनियो’, उनले भने, ‘नेकपा एकता भंग भएपछि एमालेलाई २०७५ जेठ २ मा फर्क भनेर अदालतले भन्यो। तर, फागुन २८ मा अध्यक्षले एकतर्फी निर्णय गर्नुभयो। जसले गर्दा पार्टी झन संकटमा गयो।’

उनले आफूले एमालेलाई अदालतको फैसला अनुसार अघि बढाऊँ मात्रै भनेको बताए। ‘अन्तरपार्टी निर्देशन-१२ र १० बुँदे सबैतिर लागु भयो तर, सुदूरपश्चिममा मात्रै लागु भएन’, उनले भने, ‘बैठकमा नेतृत्वले मेरो कुरा नसुनेपछि पार्टीभन्दा बाहिर बोलेको हुँ। एमालेलाई एक बनाऊँ भनेको छु। म अहिले पनि एमाले २०७५ जेठ २ को अडानमा यथावत छु।’