प्रधानमन्त्री ओली र विप्लवको फरक-फरक योजना
काठमाडौं- सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको राजनैतिक प्रतिबन्ध आज फुकुवा गर्ने भएको छ ।
विप्लव समूह सरकारसँग वार्ता गर्न तयार देखिएपछि सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ला गरिने बएको छ ।
विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत ‘आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा’ सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएपछि अहिले चर्चाको बिषय बनेको छ ।
पार्टी प्रतिवन्ध फुकुवा गरेर वार्ताको माध्यमबाट विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएपछि पुष्पकमल दाहाल प्रचण्ड समेतका शेखी झार्न सकिने र चुनावमा मिलाएर जाने रणनीतिअनुसार वार्ताको थालनी गरिएको स्रोतले दाबी गर्छ ।
प्रधानमन्त्री ओलीको योजना अनुसार विप्लवको पार्टीलाई अहिलेकै व्यवस्थाभित्र समेट्न खोजेको छ । तर संसदीय व्यवस्थाको विकल्पमा जनवादी जनगणतन्त्रको लागि जनमत संग्रहमा जाने विप्लव समूहले वार्ताको प्रमुख एजेन्डा तय गरेको बुझिएको छ ।
सरकार र विप्लव समूह दुवैले वार्ता टोली भोलि नै घोषणा गर्ने भएका छन् । सम्भवतः बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका विप्लव नेता धर्मेन्द्र बाँस्तोला पनि आज नै सर्वोच्च अदालतको आदेशमा छुट्नेछन् ।
कुनै समय प्रचण्डका प्रियपात्र रहेका विप्लव अहिले भने जनवादी जनगणतन्त्र भन्दै भूमिगत बनेका थिए । सोही कारण पनि विप्लवसँगको वार्तालाई सरकारले प्राथमिकतामा राखेको हो। अर्कोतिर सरकारले घोषणा गरेको चुनावी वातावरण निर्माण गर्न सहज हुने सरकारको बुझाइ छ।
विप्लव पक्षले भने वार्तामा तीन सूत्रीय एजेन्डा उठाउने तयारी गरेको छ। प्रतिबन्ध फुकुवा, वार्ताको आह्वानपत्र सबै सरकारको तहबाट भएपछि बृहत् राजनीतिक समीक्षा, सभा, संयुक्त सरकार र त्यही सरकारको अगुवाइमा संसदीय व्यवस्था (पुँजीवाद)या वैज्ञानिक समाजवाद भन्ने विषयमा जनताको सार्वभौम जनमतबाट निरूपण गर्नुपर्ने गरी एजेन्डा उठाउने तयारी विप्लवको पार्टीले बनाएको छ। फागुन १ मा विप्लवले नै जारी गरेको वक्तव्यमा पनि यो विषय उल्लेख छ।
सरकारले भने संसदीय व्यवस्थाभित्रै ल्याउन विप्लवका नेताहरूलाई पनि सरकारमा सहभागी गराउने, सकेसम्म आफ्नै पार्टीमा एकता गराउने, नभए पनि संसदीय चुनावमा भाग लिन वातावरण बनाउने गरी संवादमा बस्न चाहेको छ। वार्ता टोलीमा बाँस्तोला रहने प्रवल सम्भावना रहेको बताइएको छ ।