कोरोनाले मुलुकको विकास गर्न दिएन: प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले समस्यै समस्या ल्याएको बताएका छन्। उनले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाको कारण केहि गर्न नसकेको बताएका हुन् ।
झापाको दमक अस्पताल भवनको भर्चुवल शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यालयदेखि पूर्वपश्चिम रेलमार्गका काम भइरहेको बताए। उनले हरेक दिन शिलान्यास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको बताएका हुन्।
‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ,’ उनले भने, ‘अनेक ठाउँमा शिलान्यास भइरहेका छन्। विद्यालय, विश्वविद्यालय। बाटा। सरकारी भवन निर्माण भइरहेको छ। शिलान्यास भइरहेको छ।’
प्रधानमन्त्री ओलीले रेल ल्याइसकिएको पनि बताए । ‘नयाँ रेल ल्याइसकियो, छिटै सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘सुरूङ मार्ग काम भइरहेको छ। जलमार्ग, नदीमार्थ र हवाइ मार्गका क्षेत्रमा ठूलो उन्नती भएको छ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विभानस्थल तयार भइरहेको पनि बताए। ‘पूर्वपश्चिम रेलमार्गको तयारी हुँदैछ। पूर्वपश्चिम राजमार्ग विस्तार भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका प्रयास भइरहेको छ।’
उनले सरकारले कुरा मात्रै नभएर काम पनि गरेको बताए। ‘सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नकरात्मक प्रवृत्ति सुनेको हुन सक्छ। राम्रा कामबाट आत्तिएकाले त्यस्तो कुरा गरेका हुन सक्छन्। कोरोना धिमा गतिमा झारेपछि त्यस्ता तत्वले भन्ने मौका कम पाएका छन्।’
सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि प्रधानमन्त्री ओलीले बताए।