ओलीको अपराध प्रमाणित भएको खण्डमा दश वर्ष कैद र एक लाख जरिवाना हुनसक्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ओलीको अपराध प्रमाणित भएको खण्डमा दश वर्ष कैद र एक लाख जरिवाना हुनसक्ने



काठमाडौं- कोरोना संक्रमित भएर घरमै आराम गरेका भनिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा पुगेपछि उनको अहिले चर्को आलोचना भएको छ । भक्तपुरमा भएको एक सार्वजनिक कार्यक्रममा पुगेर ओलीले भाषण समेत गर्न भ्याएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनी भीडमा देखिएका छन्।

ओलीको उक्त भिडियोमा सरकारले जारी गरेको नियम समेत उल्लङ्घन गरिएको छ । संक्रमित भएर पनि ओलीले ठुलो भिडमा पुगेपछि उनी अहिले आलोचनाको केन्द्रमा परेका छन् ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवारीको पराकाष्ठा नाघेको टिप्पणी गरेका छन्। कोरोना संक्रमणमुक्त भएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अरुको जीवनप्रति खेलबाड गरेको बताएका हुन्।

९ माघमा पत्नी राधिका शाक्यसहित कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ओली कोरोनाले नछाड्दै बुधबार सार्वजनिक कार्यक्रममा देखिएका थिए। बुधबारदेखि राष्ट्रिय युवा संघ नेपालले शुरु गरेको सप्ताहव्यापी खुल्ला रक्तदान अभियानमा सहभागी भएका थिए। उनी कोभिड–१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड–२०७७ को उल्लंघन गर्दै सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

शर्माले लेखेका छन्, ‘‘संक्रमण पुष्टिपछि आइसोलेशनमा बस्नु हामी हरेकको जिम्मेवारी हो। पालना नगर्नु बहादुरी होइन गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो!”

कोभिड–१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड–२०७७ को परिच्छेद ३ मा आइसोलेशनमा बसेको १४ दिनपछि वा पूर्ण निको भएको ३ दिनपछि मात्रै अस्पताल वा आइसोलेशनबाट निस्किन मिल्ने व्यवस्था छ।

मुलुकी अपराध संहिताले संक्रामक रोग फैलाउन नहुने व्यवस्था गरेको छ। उक्त संहिताको उल्लंघन गरी नियतपूर्वक वा जानीजानी संक्रामक रोग फैलाउने कसूर गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, लापरबाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँको जरिवाना र हेलचेक्र्‍याइँ गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ।