प्रधानमन्त्री ओली फेरि विवादमा - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

प्रधानमन्त्री ओली फेरि विवादमा



आन्दोलन गराउँदा नसर्ने, बैठक गर्दा भने सर्ने यो कस्तो कोरोना ?

काठमाडौं- सत्तारुढ नेकपाभित्र डेड महिनादेखि जारी आन्तरिक किचलो अझै समाधान हुन सकेको छैन् । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक छलफल भएपनि सहमतिको खाका अझै फेला परेको छैन् ।

ओली र प्रचण्डबीच रातदिन वार्ता पनि आफ्नै अडान कायमै राख्दा अविश्वास थप चुलिएको छ । डेढ महिनाको कसरतपछि सचिवालयमा निर्णायक मानिएका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन सफल भएका प्रधानमन्त्री ओलीले आफ्नो अडानलाई झन दृढताको साथ अगाडि सारेका छन् ।

गौतमले सहमतिको छ बुँदे प्रस्ताव पार्टीभित्र अगाडि सारेपनि प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अल्पमतमा परेका छन् । सचिवालयमा रामबहादुर थापाले समेत पछिल्लो समयमा ओलीलाई साथ दिएपछि अब स्थायी समिति बैठकबाट भन्दा पनि अध्यक्ष ओली सचिवालयबाटै समाधान खोज्ने अडानमा रहेका छन् ।

अर्का अध्यक्ष प्रचण्डले पदको लागि भन्दा पनि विधि अनुसार पार्टी चलाउनु पर्ने भन्दै जारी विवाद समाधान स्थायी समिति बैठकबाटै गर्नुपर्ने अडान राखेका छन् । केही समय अल्मतमा परेर तनाबमा परेका ओलीलाई गौतम र थापाले साथ दिएपछि भने थप शक्तिशाली बनेका छन् ।

ओलीले प्रचण्ड र नेपाल पक्षलाई गलाउनको लागि स्थायी समिति बैठक स्थगित गरेर सचिवालयबाटै समाधान खोज्नु पर्ने नयाँ तुरुप अगाडि सारेका छन् ।

यसैक्रममा, प्रचण्ड नेपाल समुहलाई गलाउन प्रधानमन्त्री ओलीले विज्ञहरुसंगको छलफलमा पनि नेताहरूमाथि दोष लगाए । उनले कोरोना फैलाउनाकै लागि आफ्ना पार्टीका नेताहरू लागिपरेको आरोप समेत लगाए । प्रचण्ड- नेपाल समुहले पार्टीको केन्द्रीय समिति बैठक बोलाउन प्रस्ताव गरिरहेकै बेला उनले यस्तो बताएका हुन् ।

तर, प्रधानमन्त्री ओली आफैले केहि हप्ता अगाडी मात्र आफ्ना पक्षमा आन्दोलन र जुलुस गर्न युवाहरूलाई निर्देशन दिएका थिए । सरकारकै नियम उल्लंघन गर्दै सयौँको संख्यामा युवाहरूले आन्दोलन गरेका थिए । त्यतिबेला सरकार र प्रहरी प्रसाशनले उनीहरूको जुलुस रोक्न समेत खोजेको थिएन ।

प्रधानमन्त्री ओलीले मंगलबार विज्ञहरूको छलफलमा बोलेको यो भाषाले उनि फेरी विवादमा तानिएका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरूले उनलाई आन्दोलन गराउँदा कोरोना नसर्ने बैठक गर्दा भने सर्ने यो कस्तो कोरोना भनेर व्यंग्य गर्न सुरू गरेका छन् ।