ओली विवादमा तानिए ,कारवाही हुने कि नहुने ? - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

ओली विवादमा तानिए ,कारवाही हुने कि नहुने ?



काठमाडौं। प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा) भित्र विवाद निम्त्याएको छ । एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत भन्दै जरिवाना तिराउनुपर्नेसम्मको माग गरेका छन् ।

प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने भन्दै राजपा प्रदेश २ का सचेतक परमेश्वर साह र राष्ट्रिय सभा सदस्य वृजेश लालले प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने तर्क गरेका हुन् । उनीहरूको कडा मागपछि राजपामा मतभेद झन् बढेको छ । कतिपय सदस्यले पार्टी संयोजक महन्थ ठाकुरले दोहोरो चरित्र देखाएर जानाजान विवाद जन्माएको आरोप लगाएका छन् ।

केन्द्रमा प्रधानमन्त्री ओलीनिकट रहने र प्रदेशमा पनि आफ्ना सदस्यमार्फत विरोध गर्न लगाउने दोहोरो चरित्र ठाकुरले देखाएको आवाज उठेको छ । प्रधानमन्त्रीको सम्बोधनको विरोध गर्ने लाल र साह दुवै ठाकुरनिकट नेता हुन् । नयाँ पत्रिकामा खबर छ ।

पार्टीमा शृंखलाबद्ध विवाद

राजपामा सांगठनिक गतिविधि शून्य हुने र आन्तरिक निर्णय नेतृत्वबाट एकलौटी भएको भन्दै असन्तुष्टि बढेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनोटदेखि नै नेतृत्वले एकलौटी निर्णय गर्ने गरेको असन्तुष्टि बढेको हो । राजपा स्रोतका अनुसार प्रदेश २ को मन्त्री र राज्यमन्त्री छनोट, राष्ट्रिय सभा सदस्य छनोट, प्रदेशको सचेतक चयनदेखि प्रतिनिधिसभा संसदीय दलको नेतृत्व चयनसम्ममा एकांकी निर्णय भएको छ ।

यी सबै विषयलाई लिएर असन्तुष्टि छ । संसदीय दलको नेतामा चयन भए पनि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अहिलेसम्म उपनेता र प्रमुख सचेतक नियुक्त गर्न सकेका छैनन् । यो अवस्थाबाट नेता राजेन्द्र महतो र शरत्सिंह भण्डारी बढी असन्तुष्ट छन् ।

संयोजक ठाकुरले प्रदेश २ मा एकजना राज्यमन्त्री दिने आश्वासन दिएर संसदीय दलको नेता चयन गर्ने वेला नेता भण्डारीलाई आफ्नो पक्षमा लिएका थिए । अघिल्लो दिनसम्म भण्डारी दलको नेता राजेन्द्र महतोलाई बनाउने पक्षमा थिए । तर, लगत्तै प्रदेश २ को सरकार राज्यमन्त्रीका लागि सिफारिस भएका ३ जनामा भण्डारीको मान्छे कोही पनि परेनन् ।