प्रधानमन्त्री ओली राष्ट्रपति निवास धाईरहनुको रहस्य
काठमाडौं- प्रदेशदेखि केन्द्रसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा माहोल बनेपछि कठोर निर्णय लिने तयारी गरेको बुझिएको छ ।
सधैजसो महत्वपूर्ण निर्णय लिनुअघि राष्ट्रपतिसँग लगातार भेट्ने गरेका ओलीले आइतबार पनि एकै दिन दुईपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवास पुगेर भेटेका छन् । दिउँसो र अपरान्ह उनी दुईपटक भण्डारीलाई भेट्न पुगेका हुन् ।
पछिल्लो समय देशको राजनीति आफ्नो प्रतिकुल बन्दै गैरहेको आंकलन गर्दै कुनै महत्वपूर्ण निर्णय लिने तयारी उनले गरेको उनी निकट नेताहरूले नै बताउने गरेका छन् ।
राजनीतिक घटनाक्रम तिव्र गतिमा विकास भइरहँदा ओलीले मन्त्रिपरिषद बैठक बस्नुअघि पहिलो भेटवार्ता गरेका हुन् । त्यसपछि उनी मन्त्रिपरिषद बैठक मात्रै गरेर राष्ट्रपति निवास हुन्देका थिए । मन्त्रिपरिषद बैठकमा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय सुनाएर बालुवाटार हिंडेका थिए ।
प्रधानमन्त्री ओलीले बैठकमा मन्त्रीहरुलाई पर्खन लगाएर आफू राष्ट्रपति भेट्न हिंडेको बुझिएको छ । क्याबिनेट सकिएको या नसकिएकोबारे स्पष्ट नपारी ओली गएपछि मन्त्रीहरु बालुवाटारमै कुरेका छन् ।
संविधान अनुसार युद्ध, प्राकृतिक विपत्ति, महामारीलगायतको अवस्थामा राष्ट्रपतिले संकटकाल घोषणा गर्नसक्ने व्यवस्था छ । उनले संकटकाल घोषणासम्मका लागि राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ ।