राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच डेढ घण्टा छलफल
काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
राजनीतिक संकट बढिरहेको र नेकपा एमालेभित्र तीव्र विवाद भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आइतबार साँझ ७ बजे राष्ट्रपति निवास शीतलनिवास पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट साढे ८ बजेतिर बाहिरिएको बताइएको छ ।
राष्ट्रपति निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच डेढ घण्टाबढी छलफल भएको स्रोतले जनाएको छ ।
उनीहरूबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको स्रोतको दाबी छ। तर, यसअघि पार्टीमा संकट आउँदा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग परामर्श गर्ने गरेका छन् ।
एमालेभित्र विभाजन देखापरेको तथा सरकार अल्पमतमा पर्न लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग गरेको भेटवार्तालाई बालुवाटार स्रोतले भने नियमित बताएको छ।