प्रधानमन्त्री ओली भन्छन्- राजतन्त्रको माग गर्नेहरू अपराधी हुन्
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको माग गर्नेहरू अपराधी भएको बताएका छन् । गृह मन्त्रालयमा सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्रको माग गर्नेहरूबारे यस्तो बताएका हुन् ।
ओलीले केही तत्त्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको उनले बताए । ‘यो जनतामाथिको हमला हो, जनताको अपमान हो । यो आपराधिक कार्य र देशद्रोही कुरा हो’ उनले भने ।
गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै यो दिनलाई जनताले साझा चाडका रूपमा उत्साहसाथ मनाउनुपर्नेमा जोड दिए ।
जनता चुप लाग्दा प्रतिगामी तत्त्व सल्बलाउन थालेका छन् भन्दै जनता सचेत हुनुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ थियो । राजतन्त्रमा हुने जन्मसिद्ध श्रेष्ठता पाखण्डी सिद्धान्त भएको प्रधानमन्त्रीको टिप्पणी थियो । उनले भने, ‘गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक रूप हो, प्रतिस्पर्धी प्रणाली हो ।’