देउवाबाट 'धोका' खाएपछि ओलीसँग गुहार माग्दै 'नक्कली ज्वाईं' बतास - Himal Post Himal Post
  • २६ पुष २०८२, शनिबार
  •      Sat Jan 10 2026
Logo

देउवाबाट ‘धोका’ खाएपछि ओलीसँग गुहार माग्दै ‘नक्कली ज्वाईं’ बतास



यतिबेला चौतर्फी विवादमा तानिएका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलो ढक्ढक्याउन पुगेका छन् ।

स्रोतका अनुसार उनले ओलीलाई फोन गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । बतासले आफूले निकै लामो समयदेखि राजनीतिक दलहरूलाई सहयोग गरेको भएपनि अन्तिममा आएर सबैले आफ्नो खेदो खनेको भन्दै गुनासो पोखेका थिए ।

ओली र बतासबीच कुराकानी भएको बालकोट स्रोतले पुष्टि गरेको छ ।

‘आनन्द बतास र ओलीबीच टेलिफोनमा कुराकानी भएको छ, एउटा पार्टीको अध्यक्ष र अर्को व्यवसायी भएका नाताले फोनमा कुराकानी हुनु सामान्य हो,’ स्रोतले भन्यो ।

केही दिन अघि एक निजी टेलिभिजनले गरेको स्टिङ अपरेशनका क्रममा बतासले आफूलाई ओलीले ज्वाईं भन्ने गरेको खुलासा गरेका थिए ।

त्यसको प्रतिवाद गर्दै ओलीले एक सार्वजनिक कार्यक्रममा सरकारले नक्कली ज्वाईं खडा गरेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट संचालनको जिम्मा ओली सरकारले नै बतास समूहलाई दिएको थियो । त्यो मात्र नभएर ओली सरकारले अन्य धेरै सार्वजनिक र ऐतिहासिक ठाउँ बतास समूहलाई भाडामा दिने निर्णय गरेको थियो ।

बतास निकै लामो समयदेखि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक रहेको उनले नै स्वीकारेका छन् ।

तर नारायणहिटी लगायत अन्य धेरै प्रकरणमा मुछिएपछि बतासले देउवाको सहयोगसमेत मागेका थिए । तर देउवाले अन्तिम समयमा बतासलाई धोका दिएको चर्चा चलेको छ ।

म केपी ओलीको पनि ज्वाईं हो भनेका बतासलाई एक कार्यक्रममा ओलीले नक्कली ज्वाईंको संज्ञा दिएका थिए । ओलीले आफ्ना छोरीहरू देशैभर भएकाले सबै ज्वाईं भएको बताएका थिए । त्यतिमात्र होइन ओलीले सरकारले आफ्नो भ्रष्टाचार छोप्न नक्कली ज्वाईं खडा गरेको आरोप समेत लगाएका थिए ।