माधव नेपालले भने: ओलीबाट अब नेकपाको नेतृत्व सम्भव छैन - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

माधव नेपालले भने: ओलीबाट अब नेकपाको नेतृत्व सम्भव छैन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले प्रदीप नेपाललाई उनकै निवास पुगेर भेटवार्ता गरेका छन् । शनिबार प्रधानमन्त्री निकट नेताहरुले सक्रिय बन्न तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई मिलाएर पूर्वएमालेलाई एक ठाउँमा ल्याउन सहयोग गरिदिन आग्रह गरेका थिए ।

ओली निकट नेताहरुको आग्रह अनुसार प्रदीप नेपालले वरिष्ठ नेता नेपाललाई ‘भेट्न कोटेश्वर आउँछु’ भन्दै फोन गरेका र वरिष्ठ नेता नेपालले आफू नै भेट्न आउने जानकारी गराएका थिए । नेता नेपालले आफू निकट नेताहरुलाई बताए अनुसार सोमबार बेलुकी प्रदीप नेपालको निवासमा लामो छलफल भएको छ ।

स्वास्थ्य लाभ गरेर बसिरहेका प्रदीप नेपालले आफूलाई प्रधानमन्त्रीका सल्लाहकार र नेताहरुले सक्रिय हुन आग्रह गरेको जानकारी गराएका थिए । उनले वरिष्ठ नेता नेपालसँग भने, ‘उहाँहरु मलाई भेट्न आउनु भएको थियो । मलाई सक्रिय राजनीतिमा लाग्न सुझाव दिनुभयो । तर, अध्यक्ष बन्न भने भन्नु भएको होइन । उहाँहरुले केपी ओली र तपाईँलाई मिलाइदिनु पर्यो भन्नुभयो । मैले अब तपाईँहरुले नेतृत्व गर्नुपर्छ भनेर जवाफ दिएको थिएँ ।’

भेटवार्ताका क्रममा वरिष्ठ नेता नेपाललाई ओलीसँग मिलेर जान उनले आग्रह गरेका थिए । तर, वरिष्ठ नेता नेपालले आफूमा नभएर ओलीमा समस्या भएको बताएका थिए । उनले प्रदीप नेपालसँग भने, ‘जनता कोरोना महामारीबाट मरिरहेका छन्, तर सरकारले कुनै पनि राम्रो काम गरेको छैन । उहाँ अरुलाई होच्याउने, धम्की दिने र नेता खरिद बिक्री गर्नेकाममा केन्द्रित हुनुहुन्छ । केपीबाट अब नेतृत्व सम्भव छैन, समस्या उहाँमा छ सम्झाउँनुस् ।’

वरिष्ठ नेता नेपालले आफू मिलेर जान तयार रहे पनि ओलीमा सबैलाई उपयोग गर्ने बानी कहिल्यै नहटेको बताए । उनले भने, ‘वैचारिक वा अन्य सबैहिसाबले मिलेर जान म तयार नै छु । तर, उहाँमा विधि, प्रक्रिया, पार्टी कसैले भनेको नमान्ने दम्भ छ । घमण्डले गर्दा उहाँसँग सहकार्य सम्भव हुने अवस्था छैन । त्यसैले तपाईँलाई फेरि पनि मेरो आग्रह एक पटक राम्रोसँग सम्झाउनुस् । विधि र प्रक्रिया अनुसार पार्टीलाई अगाडि बढाएमा कुनै समस्या नै छैन ।’