“पार्टी एकता त ओलीको ठगी धन्दा पो रहेछ”
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता केपी शर्मा ओलीको ठगी धन्दा भएको बताएका छन् ।
उनले ओलीले धोका दिएकै कारण आफूले धेरै कुरा सिक्न पाएको बताए । उनले समाजवाद निर्माणको अभियानमा जुट्न युवाहरुलाई आव्हान गरेका छन् । विगतमा पञ्चायत, राजतन्त्रलाई विदा गर्न आफूहरुले अभियान चलाएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अहिलेका युवाहरुले समाजवादको अभियान चलाउन आव्हान गरेका हुन् । अध्यक्ष प्रचण्डले युवाहरुको काँधमा केपी ओलीले अघि सारेको प्रतिगमनकारी विचारलाई परास्त गर्नुपनि रहेको बताए ।
आफूलाई अहिले पनि एमालेसँग पार्टी एकता गरेर गल्ति गरेको महसुुस नभएको सुनाउदै प्रचण्डले विचार, राजनीति र सिद्धान्त लगायतका कुरा दस्तावेजमा लेखिएको भएपनि केपी ओलीले लेखिएको तमसुक पालना नगरेको बताए । आफूहरु सहमतिको तमसुक हेरेको हेर्यै भएको तर ओलीले प्रधानमन्त्री पाएपछि पड्काएको पड्कायैं पारेको बताए ।
वाईसिएल भेलामा अध्यक्ष प्रचण्डले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश:
नेपालमा पछिल्लो चरणमा भयानक प्रतिगमतका नाईकेहरु नै कम्युनिष्ट आन्दोलनको नेतृत्वमा आए । प्रतिगमन विरुद्धको आन्दोलन एक हिसावले जनयुद्ध जस्तै नै थियो । लाखौं जनता काठमाडौंका सडकमा उतार्यौं । अन्य दलहरुले पनि साथ दिए ।
समाजवादी आन्दोलन अघि बढाउने अव युवाहरुले हो ।
त्यतिबेला मोहन विक्रल लगायतका नेताहरुको निर्देशन थियो हामी तत्कालिन निरंकुशताका विरुद्ध आन्दोलनमा उत्रिएका थियौं । अहिले तपाईहरुलाई उपलव्धीमा टेकेर समाजवादी आन्दोलन अघि बढाउने, राष्ट्रियतालाई बलियो बनाउने अवसर छ । अहिले यो गठवन्धनको रक्षा र सुदृढ पनि गर्नुछ । नेपालका लोकतान्त्रिक शक्तिहरु जति जति बेला मिलेका छौं । प्रतिक्रियावादी शक्ति परास्त भएको छ ।
जतिबेला हामी लडेका छौं त्यतिबेला प्रतिक्रियावादी शक्ति हावी भएको छ । अहिले पनि देशलाई पुरातनपन्थतिर फर्काउने शक्ति परास्त भएको छैन । त्यसैले तपाई युवाहरुले यो अभियानको नेतृत्व लिनु पर्दछ । युवाहरुले यो कुरालाई गहिरोगरि आत्मसाथ गर्नुस । हाम्रो भरोसा छ । अहिले पनि हामीलाई युवाहरुलाई अघि ल्याउनु पर्यो नत्र ढिलो हुन्छ भन्ने लागेको छ । हामीले युवा, महिला र दलितहरुको निश्चित प्रतिशत प्रतिनिधित्वको कुरा विधानमा निश्चित गरेका छौं । भोली फेरी गलतबाटोमा देश जान नपाओस भन्नका लागि यसो गरिएको छ । आउने पुसमा सममेलन मार्फत विधानमा गरिएको व्यवस्थालाई अघि बढाउने छौं । अव आउने दशकका लागि नेपालको समाजवादको बाटो यो हो ।
शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत अघि बढ्ने कुरा गरेका छौं । हिजो पनि हामिले उत्पादन ब्रिगेडको कुरा गरेको हो । अहिले पनि त्यो समय छ । आत्मनिर्भता, स्वरोजगार र जनताको सेवकको रुपमा अघि बढ्ने ब्रिगेडहरु बनाउनु पर्नेछ । केन्द्रीय समितिमा हामिले संकल्प गरेर आएका छौं । विचारमा मौलिकता दिएर आदर्शका निम्ति लड्न सकेनौं भने हाम्रो अस्तित्वमाथि प्रश्न उठ्छ भनेका छौं । त्यसैले जनतालाई झुट नबोल्ने, जनतालाई नठग्ने । तीन वर्षदेखि यही प्रबृती विरुद्ध लडियो । केपी प्रबृती भन्ने एउटा, गर्ने ठिक उल्टो, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्नुहुन्थ्यो, तर गर्ने ठिक उल्टो । कतिपय साथीहरुलाई एकता गर्नु नै बर्बाद थियो भन्ने लागेको छ । कतिपयलाई राजनीतिक विचार नमिलाईकन गरियो भन्ने पनि लागेको छ ।
तर दस्तावेजमा कुनै समस्या छैन । अध्यक्ष पालो,पालो प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा हस्ताक्षर गरियो । तर उनको त्यो प्रधानमन्त्री प्राप्त गर्ने ठगी धन्दा रहेछ । हामी तमसुक हेरेर बसियो उनले प्रधानमन्त्री पड्काए लगेको लग्यै पारे । केपी ओलीसँग एकता गरेर के पाउनु भयो भन्दा मैले ज्ञान प्राप्त गरें भने । हामी घिउ भन्दा नरम र सारै अत्याचार भएपछि विद्रोह गर्ने पनि हामी हौं । हामीले नै केपी प्रबृतीलाई ढाल्यौं । मलाई सक्रिय राजनीति छोडेर संस्मरण लेख्ने रहर छ । तर तपाईहरुले विकल्प दिनु पर्दछ ।
विजयी भैयो भनेर रिल्याक्स गर्न खोज्यौं कताबाट के आईहाल्छ । संसद विघटन परास्त भएर पहिलो पटक पुनस्थापना हुँदा माधव र म लड्डु खान थाल्यौं, लड्डुको स्वाद नसकिँदै पार्टी फुटाईदिए । तर हामी विचार र नीतिमा प्रष्ट भयौं भने जित त हाम्रो नै हुन्छ । त्यसका लागि बलियो संगठन चाहिन्छ । हामी राष्ट्रिय एकताको झण्डा, आन्दोलनको एकताको झण्डा, लोकतन्त्र संविधान र राष्ट्रिय एकताका पक्षधर शक्तिहरुका बीचको एकताको झण्डा बोक्नु पर्दछ । २१ औं सताव्दीको राजनीति, अर्थतन्त्र र विकासको मोडल हामिले दिनुछ ।