ओली- एकताको पक्षमा नलाग्नोस्, वामदेव- पार्टीको निर्णय मान्छु
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा लागेर समय नबिताउन आग्रह गरेका छन् । माधव नेपालहरू पार्टी फुटाउनकै लागि लागिपरेकाले एकताको पक्षमा लागेर केही उपलब्धि नहुने ओलीको भनाइ थियो ।
एमाले संसदीय दलको आज बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको जिकिर गरेका हुन् । एमाले अहिले स्पष्ट रुपमा दुई समूहमा विभाजित छ ।
“एकताको पक्षमा लागेर केही हुन्न । उनीहरु एकता चाहँदैनन् भन्ने कुरा अब त बुझ्नुभयो होला । अब त्यता नलाग्नोस्,” ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूले पार्टीको निर्णय मान्ने बताएका छन् । शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनी यसअघि बालुवाटारमै भएको संसदीय दलको बैठकमा गएका थिएनन् । गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् ।
उनले आफूलाई पार्टी ह्वीप नलाग्ने भएको यसअघिको बैठकमा नआएको बताए । “राष्ट्रपतिले नियुक्त गरेको मलाई पार्टी ह्वीप नलाग्ने भएकोले दलको बैठकमा नआएको हुँ । तर, पार्टीले राष्ट्रपतिलाई सिफारिस गरेकोले मैले पार्टी निर्णय मान्छु,” उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।