ओली बालकोट फर्कने तयारी: युथफोर्सले ५ हजार सवारीले 'स्कर्टिङ' गर्ने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ओली बालकोट फर्कने तयारी: युथफोर्सले ५ हजार सवारीले ‘स्कर्टिङ’ गर्ने



काठमाडौं- ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर एमालेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालकोट सर्न लागेका छन् । बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास छाडेर निजि निवास बालकोट जाने ओलीको तयारी हुँदैछ ।

ओली विहान ११ बजे बालुवाटार छाडेर बालकोटस्थित निवास जान लागेका हुन्। सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लागेका हुन्।

मंगलबार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शपथ लिएसँगै ओलीले बालुवाटार छोड्न लागेका हुन्।

बालुवाटारबाट बालकोट जानेक्रममा ओलीलाई युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको छ। मंगलबार एमालेको भ्रातृ संगठन युवा संघले ब्युँताउने निर्णय गरेसँगै युथ फोर्सले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्‍याउने तयारी गरेको हो।

नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले ओली प्रधानमन्त्री निवासबाट बालकोट जाँदा पाँच हजार सवारीले स्कर्टिङ गरेर लैजाने बताए। २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्कर्टिङ गर्ने उनको भनाइ छ। कौशलटारदेखि बालकोटसम्म ओलीको स्वागत गर्ने कार्यक्रम रहेको उनले जनाए।

ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन्।