प्रम ओलीले पार्टी भित्र छलफल र सल्लाह नगरी एकलौटी काम गरेका छन् :बैद्य
बुटवल,– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले दुई तिहाइको वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेर फाँसीवाद निम्त्याउन खोजेको टिप्पणी गरे । फाँसीवाद सिङ र जुरो हालेर नआउने चर्चा गर्दै वैद्यले प्रतिपक्षसहित अरु दललाई पेलेर जाने सरकारको सोच नै फाँसीवाद ल्याउने बाटो भएको बताए । उनले दुई तिहाइको शक्तिको दुरुपयोग नगर्न आग्रह गरे । सरकार लोकतन्त्रविरुद्ध सत्ताको दुरुपयोग गर्न उद्दत रहेको टिप्पणी गरे ।
‘सरकारले दुई तिहाइको दम्भमा लोकतन्त्रविरुद्ध सत्ता र शक्तिको दुरुपयोग गरिरहेको छ’, वैद्यले भने, ‘यही तरिका हो भने मुलुक फाँसीवादमा जान धेरै समय लाग्दैन ।’ उनले प्रधानमन्त्री केपी ओलीले दुई तिहाइको उन्मादमा फसेर आफ्नै पार्टीभित्रसमेत छलफल र सल्लाह नगरी एकलौटी काम गरिरहेको दाबी गरे । वैद्यले सत्तारुढ नेकपालाई कम्युनिष्ट भन्न नमिल्ने भन्दै नक्कली कम्युनिष्टको संज्ञा दिए ।
नक्कली कम्युनिष्टको सरकारले जनताका लागि नभई राज्यको ढुकुटीबाट आफ्नै कार्यकर्तालाई पोसिरहेको जिकिर गरे । उनले विकासको कुरा मात्र गरेको भन्दै विकासमा ध्यान दिएर लागे विप्लव, सिके राउत र रेशम चौधरीहरुको जन्म नहुने तर्क गरे । मुलुक विखण्डनका लागि अघि बढेका सिके राउतसँग अपारदर्शी तरवले सुटुक्क वार्ता गर्ने ओली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने र कैलाली घटनामा संलग्न रहेको आरोवमा रेशम चौधरीसहित ११ जनालाई जेल हाल्नु निन्दीय भएको उल्लेख गरे । उनले विप्लवसँग तत्काल वार्ताको प्रक्रिया थाल्न सरकारलाई सुझाए ।
२०२८ सालमा झापा विद्रोहका बेला बन्दुक उठाएका केपी ओली र १० वर्षे माओवादी जनयुद्धको नेतृत्व गरेर सत्तामा पुगेका पुष्पकमल दाहाल प्रचण्डले विध्वंशकारीको आरोपमा प्रतिबन्धित गर्न नसुहाउने तर्क उनको छ । फरक प्रसंगमा उनले विप्लव समूहसँग पनि स्पष्ट कार्यदिशा नरहेको बताए । उनले बन्दुक किन र कसका लागि भन्ने औचित्य सिद्ध गर्न उक्त समूहले नसकेको उल्लेख गरे ।