बहुमत पुगेपछि प्रधानमन्त्री ओलीले डाके सचिवालय बैठक - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

बहुमत पुगेपछि प्रधानमन्त्री ओलीले डाके सचिवालय बैठक



काठमाडौं- पार्टीका बहुमत सचिवालय सदस्यहरूले लामो समयदेखि बैठक बोलाउन आग्रह गर्दा पनि अल्पमतमा परेका कारण बैठक टार्दै आएका प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमत पुग्नेभएपछि बैठक डाकेका छन् ।

बुधबार मात्र पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न बाटो खुला गरेपछि एकाएक बैठक बोलाइएपछि नेकपावृत्तमा यसको चर्चा सुरू भएको छ । यसअघि पनि मन्त्री बन्ने र राष्ट्रियसभा लैजाने बार्गेनिङमा गौतमले कैयौँ पटक पार्टीमा समीकरण परिवर्तन गर्दै आएका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समुहमा गौतमले साथ् दिँदा बहुमत पुगेको थियो भने गौतमले प्रधानमन्त्री ओलीलाई साथ् दिँदा उनीहरूको बहुमत भत्किने खतरा छ ।

प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीले पार्टी र सरकारमा मनोमानी गरेको भन्दै आक्रामक बन्दा समेत बैठक नबोलाएका ओलीले अदालतको निर्णय आउनेबित्तिकै बैठक बोलाएका छन् । पछिल्लो समय पनि पार्टी ओली अल्पमतमा परेका बेला गौतमले अन्तिम समयमा ओलीलाई साथ् दिएका थिए ।

नेकपाको सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । बैठकका लागि सचिवालय सदस्यहरुलाई महासचिव विष्णुप्रसाद पौडेलले खबर गरेका छन् ।

नेकपाभित्र लामो समयदेखि बैठककै लागि संघर्ष हुँदै आएको छ । अन्तिम समयमा ओलीले महासचिव पौडेललाई उपयुक्त समयमा बैठक बोलाउने जिम्मा दिएका थिए । नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड भनिए पनि ओलीले नै उक्त जिम्मेवारीको अभ्यास गरिरहेका छन् ।

यसअघि पाँच सचिवालय सदस्यले बैठकका लागि लिखित पत्र नै अध्यक्ष ओलीलाई बुझाई सकेका छन् । ओलीले पेल्दै गएपछि कुनै न कुनै विन्दूमा ‘जस्तोसुकै’ निर्णयका लागि पनि तयार हुनुपर्ने भन्दै दाहाल-नेपाल समूहले तयारी अगाडि बढाएका थिए ।