प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच सुरू भयो लफडा - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच सुरू भयो लफडा



काठमाडौं- विभाजित नेकपाको ओली समुहभित्र लफडा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समुहको संगठन, राष्ट्रिय युवा संघभित्र प्रधानमन्त्री ओली र गृहमन्त्री बादल समुहबीचको विवादले उग्र रुप लिएको हो ।

नयाँ नेतृत्व चयनमा विवाद उग्र बनेपछि पार्टीभित्रै तनावको स्थिति बनेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षीय युवाले बहिष्कार गरेको केन्द्रीय कमिटी बैठकले बचनबहादुर सिंहलाई अध्यक्ष बनाएपछि विवादले उग्र रुप लिएको छ ।

गृहमन्त्री बादल समूहका युवा नेता विरु तामाङले पार्टीसँग सरोकार नै नराखी एकपक्षीय भेलाबाट चयन भएको नेतृत्व आफूहरूले नमान्ने बताएका छन् भने यस्तो भेला अवैधानिक भएको बताएका छन् ।

वीरु तामाङका अनुसार ओली समूहले गरेको भेलामा थापा समूहको कोही पनि सहभागी भएनन् । ओली समूहले मिटिङ बोलाएर प्रशिक्षण कार्यक्रम गर्ने भनेर केन्द्रीय कमिटीलाई बोलाएर कमिटी नै घोषणा गरेको तामाङको आरोप छ ।

आइतबार र सोमबार भएको दोश्रो पूर्ण बैठकले सिंहलाई अध्यक्ष चयन गर्ने तयारी गरेपछि बादल पक्षका युवाहरुले भेला बहिष्कार गरेका थिए । बादल समूहका युवाले नयाँ नेतृत्वमा ४० प्रतिशतको दाबी गरेका थिए। ओली पक्षले ४ प्रतिशत पनि हिस्सेदारी नयाँ कार्यसमितिमा नदिने भनेपछि विवाद चर्किएको थियो।

तामाङले आफू भन्दा जुनियरलाई अध्यक्ष चयन गरिएकोप्रति आपत्ति जनाएका छन्। अध्यक्ष चुनिएका सिंहलाई जेठसम्मको कार्यकाल तोकिएको छ। एकलौटी ढंगले ओलीपक्ष अघि बढेको आरोप लामा पक्षको छ। एक पक्षीय कमिटी बन्ने भएपछि लामा पक्षका युवाहरू हल छोडेर निस्किएका थिए।

जनवर्गीय संगठनका इन्चार्ज टोपबहादुर रायमाझीले पनि नयाँ नेतृत्वका सन्दर्भमा पार्टीमा छलफल नभएको बताएका छन्। दुई नेकपाको एकीकृत अवस्थामा युवासंघको केन्द्रीय कमिटी ३३५ सदस्यीय थियो। त्यसमध्ये साविक युवा संघबाट १७८ र वाइसिएलबाट १७५ जनाले प्रतिनिधित्व गरेका थिए।