प्रधानमन्त्री ओली र बादलबीच अर्थपूर्ण भेट
काठमाडौं- विभाजनकै नजिक रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई नेता अहिलेसम्म कतितिरा खुलेका छैनन् । दुबैजना सचिवालय सदस्य भएकाले र उनीहरूका आफ्नै गुट भएकाले उनीहरू कता लाग्छन भन्ने चासोको बिषय बनेको छ ।
त्यस्तै दुवै पक्षले उनीहरूलाई आफ्नो प्रभावमा पार्ने अनेक प्रयास गरिरहेका छन् । यस्तैमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
उनीहरूबीच झन्डै एक घन्टा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान प्रधानमन्त्री ओली र बादलबीच कुराकानी भएको हो।
पूर्वमाओवादी समूहका बादलले विभाजनपछि आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए। बादल मंगलबार भएको प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा सहभागी भएनन्।