प्रधानमन्त्री ओली मन्त्री र कर्मचारीबाटै असुरक्षित - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रधानमन्त्री ओली मन्त्री र कर्मचारीबाटै असुरक्षित



काठमाडौं,। दुईतिहाई बहुमतसहित मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा आफ्नै मन्त्री तथा उच्चतहका कर्मचारीहरुप्रति रुष्ट देखिएका छन् । सरकारको आलोचना भइरहेका बेला मन्त्री तथा उच्च तहकै कर्मचारीले सहयोग नगरेको महसुस गर्दै प्रधानमन्त्री ओली रुष्ट देखिन थालेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक समीक्षा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सिंहदरबारमा भएको दुई दिने समीक्षा बैठकमा प्रधानमन्त्री ओली आफ्नै मन्त्री तथा उच्च तहका कर्मचारीहरुसँग रुष्ट देखिए । कुनै पनि घटनाको सूचना आफूले ढिला गरी पाउने गरेको र कतिपय सूचना गलत दिएको भन्दै प्रधानमन्त्री ओली मन्त्री तथा उच्च तहका कर्मचारीहरुसँग आक्रोसित देखिएका हुन् ।

उनले मन्त्री तथा सचिवहरुबीच समन्वय नभएको गुनासो गर्दै आगामी दिनमा पनि त्यही भए आफूलाई सैह्य नहुने चेतावनी दिए ।

प्रधानमन्त्री ओली विशेष गरी मुख्यसचिव लोकदर्शन रेग्मीप्रति बढी असन्तुष्ट भएको बताइएको छ । पछिल्लो समयमा सचिवहरूका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन् ।

तरकारीको विषादी परीक्षणका बारेमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशनसमेत दिए । मन्त्री तथा सचिवका कुरासमेत बाझिने गरी सार्वजनिक हुँदा सरकारप्रति जनताको विश्वास कम हुँदै गएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो ।

चालू आर्थिक वर्षमा भएको निराशाजनक विकास खर्चप्रति पनि प्रधानमन्त्री ओली असन्तुष्ट देखिए ।

कर्मचारीकै कारण विकास खर्च हुन नसकेको निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले खर्चको विवरण पनि सही दिन नसकेको र कर्मचारीले जिम्मेवारीपूर्वक काम नगरेको आरोप लगाउँदै मुख्यसचिव रेग्मीलाई ठीक ढंगले कर्मचारी परिचालन गर्न निर्देशन दिए । ६० प्रतिशत काम गरेर सतप्रतिशतको मूल्यांकन हुने परीपाटी अन्त्य गर्न उनले सुझाव दिएका थिए ।

विगतका कमजोरीबाट पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढ्नुपर्छ भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि सोही प्रवृत्ति देखिए आफूलाई सैह्य नहुने चेतावनी दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको कामसमेत प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । राष्ट्रिय गौरवका आयोजनामा साउन १ गतेदेखि प्रभावकारी रूपमा काम अगाडि बढेको देख्न पाइयोस् भन्दै उनले सम्बन्धित निकायहरुलाई कडा निर्देशन दिएको बताइएको छ ।

एउटाले अर्को निकायलाई दोषी देखाएर उम्किने वातावरण नबनाउनसमेत उनले सचेत गराए । मुलुकमा भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले अनैतिक गतिविधिमा संलग्न रहेको पाइए कसैलाई पनि नछाड्ने दृढता व्यक्त गरे । आफूले सबै मन्त्री तथा सचिवहरुको कामको मूल्यांकन गरिरहेको भन्दै उनले अख्तियारकै पदाधिकारीहरुलाई पनि नछाड्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।