मलाई कोरोना किन नलागेको भन्दै ओलीले माने आश्चर्य - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

मलाई कोरोना किन नलागेको भन्दै ओलीले माने आश्चर्य



काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले आफूलाई कोरोना संक्रमण किन भएन भन्दै आश्चर्य मानेका छन् । उनले आफूमा इम्युन सिस्टम निकै कमजोर भएको बेला पनि हजारौँको भीडमा जाँदा पनि कोरोना नलागेको भन्दै आश्चर्य ब्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ ।

संस्कृति बचाउ अभियानले बुधबार बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए । कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए ।

‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनु पर्छ, जसका कारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।

पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको ओलीको भनाइ थियो । ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उनले भने । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए ।