मुलुकको नेतृत्व गर्न ओली असक्षम प्रमाणित भइसके, अब किन भोट दिने : नेता पौडेल
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको बताएका छन्।
स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा आइतबार ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै उनले जनताले दिएको म्यान्डेडअनुसार झण्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न सक्षम छैनन् भन्ने प्रमाणित भएको जिकिर गरेका हुन्।
राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने जिकिर गर्दै उनले अब जनता माझ गएर एमालेको मत माग्ने हैसियत नै नभएको टिप्पणीसमेत गरे।
केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका नेता पौडेलकाअनुसार ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत स्याङ्जा सबै वडाहरुमा ५–५ जना प्रतिनिधि खटाइएको छ। कांग्रेस स्याङ्जाले ‘काँधमा भारी, हातमा जिम्मेवारी’ भन्ने नाराका साथ आइतबारबाट ९७ वडामा ५–५ जना प्रतिनिधि खटाएको हो।
एक जना संयोजकसहित पाँच जनाको टोली स्याङ्जाका सबै वडामा खटाइएको केन्द्रीय सदस्यसमेत पौडेलले जानकारी दिएका छन्। उनकाअनुसार टोलीमा जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश महाधिवेशन प्रतिनिधि, भ्रातृ संस्थाका नेता तथा जिल्लामा सक्रिय नेताहरु समेटिएका छन्।
वडा–वडामा खटाइएका ९७ वडा संयोजकहरुलाई केन्द्रीय सदस्य पौडेलले पुतलीबजारस्थित कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा अभिमुखिकरण तालिम दिएका छन्।
नेता पौडेलका अनुसार वडा तहमा प्रतिनिधि खटाइएको स्याङ्जामा देशमै पहिलो हो। वडा तहमा खटिएका प्रतिनिधिहरुलाई टिकट वितरणबाहेक सम्पूर्ण अधिकार दिइएको छ।
‘निर्वाचनमा टिकट वितरण गर्ने उनीहरुको क्षेत्राधिकार पर्दैन,’ नेता पौडेलले भने, ‘त्यो बाहेक पार्टीलाई बलियो बनाउने अन्य सबै कार्यक्रम उहाँहरुले सञ्चालन गर्नुहुनेछ।’