एमाले महाधिवेशन: ओलीको अर्को प्रयास पनि असफल - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

एमाले महाधिवेशन: ओलीको अर्को प्रयास पनि असफल



चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अर्को प्रयास पनि असफल भएको छ। दिनभर अनवरत खट्दापनि प्रयास सफल हुन नसकेपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । यसअघि सबै पदाधिकारी सर्वसम्मत गराउने भन्दै ओलीले ठुलो प्रयास गरेका थिए । त्यसमा पनि उनी असफल भएका थिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

सबै केन्द्रीय सदस्य सर्वसम्मत गर्ने प्रयास भएको थियो । नेताहरूले केन्द्रीय कमिटी सदस्यका आंकाक्षीहरूलाई अन्यत्र व्यवस्थापनको आश्वासन दिएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, सफल हुन सकेन ।

प्रदेश १ खुला सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । त्यसबाट ६ जना निर्वाचित हुनेछन् । यस्तै, सुदूरपश्चिम प्रदेश महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यसबाट ३ जना निर्वाचित हुनेछन् ।

दलित सदस्यतर्फ ९ जनाको उम्मेदवारी परेको छ । जसमा ८ जना निर्वाचित हुनेछन् । यसैगरी थारूतर्फ ५ जना चाहिनेमा ६ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्रतर्फ ४ जनाको उम्मेदवारी परेको छ । उनीहरूमध्येबाट ४ जना निर्वाचित हुनेछन् ।

खुला सदस्यतर्फ १०५ जनाको उम्मेदवारी परेको छ । जहाँबाट ८४ जना निर्वाचित हुनेछन् ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धा हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ ।

निर्वाचन राति २ बजेबाट हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।