ओलीले देउवालाई भने – सभामुखमाथि महाभियोग लगाऔं, चुनावमा गठबन्धन गरौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र चुनावमा गठबन्धन गर्ने प्रस्ताव राखेका छन् ।
उच्चस्तरीय स्रोतले हिमालपोस्टलाई दिएको जानकारीअनुसार आज करीब १ घण्टा भएको भेटघाटमा ओलीले देउवालाई यस्तो प्रस्ताव राखेका हुन् ।
‘एमालेको प्रतिस्पर्धी यो देशमा कांग्रेसबाहेक कोही छैन,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले हामी मिलेर पनि यो देशलाई फाइदा छ, प्रतिस्पर्धा गरेर पनि लोकतान्त्रिक पद्धतिको रक्षा नै हुन्छ । गैरसंवैधानिक काम गरेका सभामुखलाई महाभियोग लगाएर हटाउने र चुनावमा सहकार्य गरेर जाने मेरो प्रस्ताव हो ।’
जवाफमा देउवाले चुनावी सहकार्यको विषय अहिल्यै गर्न ठीक नरहेको बताए । सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन पनि देउवा तयार देखिएनन ।
बरू देउवाको जोड संसदको गतिरोध हटाउनेतर्फ थियो ।
‘लोकतन्त्रमा सत्ता र प्रतिपक्षीको सहकार्य अनिवार्य हुन्छ,’ देउवाले ओलीलाई भने, ‘त्यसैले संसदको गतिरोध हटाउनुपर्यो । अन्य मुद्दामा हामी मिलेर जान सक्छौं ।’
एमालेले सभामुखले राजीनामा नदिएसम्म संसदको अवरोध कायमै राख्ने अड्डी लिएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट गएका थिए ।
भेटघाट सौहार्दपुर्ण रहेको स्रोतको दाबी छ । भेटघाटअघि देउवाले सत्ता गठबन्धनको बैठकबाट अनुमति लिएका थिए ।