अमेरिकाले आफ्नो सरकार ढालेको ओलीको आरोप - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

अमेरिकाले आफ्नो सरकार ढालेको ओलीको आरोप



एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकाले आफ्नो सरकार ढालेको बताएका छन् । उनले अमेरिकाबाट इमेल आएपछि सर्वोच्चले आफ्नो सरकार ढालेको आरोप लगाएका हुन् ।

शुक्रबार पोखरामा एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले अमेरिकाबाट एक न्यायाधीशलाई आफ्नो सरकार ढाल्न इमेल आएपछि सर्वोच्चबाट परमादेश जारी भएको दाबी गरेका हुन् ।

‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ?’ उनले भने ।

वर्गीय पूर्वाग्रह र विकासविरोधीको षड्यन्त्रको हिस्सेदार भएर न्यायाधीशहरूले आफू नेतृत्वको सरकार ढालेको उनको आरोप छ । परमादेशले संविधानको मजाक उडाएको, जनादेशको खिल्ली उडाएको, जनताको सार्वभौम अधिकार खोसेको र सेटिङमा सबै काम भएको देखाएको पनि उनले बताए । परमादेशीहरूलाई निर्वाचनबाट ठेगान लगाउने पनि ओलीको चेतावनी छ ।

ओलीले पाँचदलीय सत्तागठबन्धनलाई अदालतले जन्माएको गोरुको पाठाको संज्ञा दिएका छन् । ‘नेपालमा एकपल्ट एकजनाले भनेका थिए– गोरु ब्याउँदैन । तर, नेपालको सर्वोच्च अदालतमा ब्यायो । उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन, पाँचवटा पाठासमेत पायो,’ उनले भने । आफूहरूले लडेर देशमा नयाँ परिवर्तनसँगै संविधान ल्याएको भए पनि परमादेशले त्यसको खिल्ली उडाएको ओलीको आरोप छ ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देउवाको ढोका कुरेर बसेको बताए । ‘उनीहरू (प्रचण्ड र नेपाल) अहिले भित्रबाट केही प्रसाद आउँछ कि भनेर ढोकाबाहिर कुरेर बसेका छन् । बुद्धि बिग्रिएर यस्तो अवस्था आएको हो,’ उनले व्यंग्य गरे, ‘कताका जंगेहरू कताका बुंग्रे भए ।’