योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीले दिए मुखभरीको जवाफ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीले दिए मुखभरीको जवाफ



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबारेमा जथाभावी टिप्पणी नगर्न भारतीय नेताहरुलाई आग्रह गरेका छन्।

बुधबार विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गत बुधबार गरेको टिप्पणीलाई निन्दनीय भनेका छन्।

योगीले भविष्यको परिणाम सम्झिएर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएको सन्दर्भमा ओलीले यस्तो जवाफ दिएका हुन्। ‘योगी आदित्यनाथले नेपालबारे बोल्नु भयो भन्ने कुरा मैले पनि सुनेँ। यदि उहाँले नेपालबारे त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन’, उनले भने, ‘त्यसरी नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित होइन।’

उनले योगीको भूमिका भारतको केन्द्र सरकारमा नभए पनि उनले मुख्यमन्त्रीका रुपमा गरेको टिप्पणी निन्दनीय भएको बताए। ‘केन्द्रीय सरकारमा नभए पनि मुख्यमन्त्रीको हिसाबमा बोलेको हो भने आलोचित विषय हो’, उनले भने, ‘त्यो निन्दनीय विषय हो। नेपालमाथिको अपहेलनाका रुपमा बुझ्छौँ। नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन, योगीजीलाई स्मरण रहोस्।’

एक साताअघि भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएका थिए।

आदित्यनाथले गत बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे सोचेर निर्णय गर्नुपर्ने बताएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट योगीबाट आएको नकारात्मक टिप्पणीको नेपालमा चर्को आलोचना भएको थियो।

‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नु हुँदैन,’ आदित्यनाथले भनेका थिए। नेपालसँग सांस्कृतिक रूपमा सम्बन्ध रहेको गोरक्षपीठका महन्तसमेत रहेका योगी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष पनि छन्।

महासंघले नेपालमा राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएको छ । आदित्यनाथले नेपाललाई भनेका थिए, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।’

आदित्यनाथले नेपालको तिब्बतीकरणको भय देखाएर नेपाललाई तर्साउन खोजेका थिए। तिब्बत चीनमा मिसिएझैँ भारतले नेपाललाई लिने धम्कीसहितको अभिव्यक्ति उनले दिएका थिए। भारतले २६ वैशाखमा नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक खोलेपछि नेपालले विरोध गरिसकेको छ।

भारतका सेनाध्यक्षले गत २ जेठमा कसैको उक्साहटमा नेपालले विरोध गरेको आरोप लगाएका थिए। त्यसपछि नेपालले जेठ ७ मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा निकालेको थियो।