अब एमालेमा अध्यक्ष ओली नै कानुन
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एकपछि अर्को शक्ति थपिएको छ । नेकपा एमालेले संसदीय दलको नेतालाई झनै बढी अधिकार दिएपछि उनी थप शक्तिशाली बनेका हुन् ।
एमालेले संसदीय दलको नेताले पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न सक्ने व्यवस्था थप गरिएको हो ।
विधानको दफा २५ मा अनुशासनको कारबाही र सजायको व्यवस्था गरिएको छ । दफा २५ को उपदफा (२) मा भनिएको छ, ‘विधानको दफा २५ बमोजिम जारी गरिएको निर्देशन वा आदेश (ह्वीप) उल्लंघन गर्नेलाई दलका नेताले वा नेताको निर्देशनमा मुख्य/प्रमुख सचेतकले स्पष्टीकरण सोध्न सक्नेछ र स्पष्टिकरण बोर्ड बैठकमा पेश गरिनेछ । र बोर्डको आवश्यक कारबाही अगाडि बढाउनेछ ।’
उपदफा (२) अनुशासनको कारबाही गर्नुभन्दा अगाडि सम्बन्धित सदस्यलाई सफाई पेश गर्ने मौका दिइने व्यवस्था गरिएको छ । संसदीय दलको नेताले अनुशानसनको उल्लंघनको प्रकृति हेरेर कारबाही गर्न सक्नेछन् ।
‘नसिहत दिने, संसदीय दलकोतर्फबाट सदनको क्रियाकलापमा भाग लिनबाट निश्चित समयका लागि बञ्चित गर्न, संसदीय दलको तर्फबाट समिति, कार्यदल, प्रतिनिधि मण्डल आदिमा प्रतिनिधित्व गर्नबाट निश्चित समयका लागि बञ्चित गर्ने र प्रतिनिधित्व गराई सकिएकोमा फिर्ता गर्ने, संसदीय दलको सदस्यता निश्चित अवधीका लागि निलम्बन गर्ने र संसदीय दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सोको लागि पार्टी केन्द्र कमिटीमा सिफारिस गर्ने’, विधानमा उल्लेख गरिएको छ ।
गत चैत ६ गते बसेको संसदीय दलको बैठकले विधान पास गरेको थियो । उक्त बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद अनुपस्थित थिए ।