ओलीले भने: निर्वाचन आयोगले नै बाकस साट्नसक्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे ।
एमालेको अहिले सुरु भएको पोलिटब्युरो वैठकमा बोल्दै ओलीले यस्तो आशंका जनाएका हुन् । उनले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरे ।
ओलीले भने, ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुल गर्दैनौं । अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’
ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आगह गरेका छन् । निर्वाचन आयोग गठवन्धनसँग मिलेको उनले दाबी गरे ।