ओलीले भने: एमसीसीका नाममा सरकारले राष्ट्रलाई गम्भीर संकटमा धकेल्यो - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

ओलीले भने: एमसीसीका नाममा सरकारले राष्ट्रलाई गम्भीर संकटमा धकेल्यो



काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले वर्तमान सत्ता गठबन्धनले एमसीसीका नाममा राष्ट्रिय हितलाई गम्भीर संकटमा धकेल्ने काम गरिरहेको बताएका छन्।

स्थानीय तह चुनावकेन्द्रित पार्टी प्रशिक्षण अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमसीसीका सवालमा गठबन्धनका नेताहरुले दुई जिब्रे चरित्र देखाइरहेको आरोप लगाए।

एमसीसीसँग गोप्य पत्राचार गर्ने, पार्टीभित्र अर्कै कुरा बोल्ने र बाहिर आएर अर्कै कुरा गर्ने भन्दै उनले गठबन्धनका नेताहरुले अत्यन्तै गैरजिम्मेवार र दुई जिब्रे चरित्र देखाएको आरोप लगाए।

ओलीले प्रधानमन्त्रीजस्तो व्यक्तिले प्रोटोकलविपरीत एउटा शाखाका प्रमुखलाई पत्र लेख्नु आफैंमा अपमानजनक रहेको बताए। ‘अर्को कुरा पार्टी अध्यक्षका हैसियतले पत्र लेखेको कुरा आएको छ, अध्यक्षका हैसियतले लेखेको भए डेमोक्रेटिक या रिपब्लिकन पार्टीका प्रमुखलाई लेख्नुपथ्र्यो होला, कुन पार्टीका अध्यक्ष हुन् र एमसीसीका प्रमुख? फेरि कुन–कुन पार्टीका अध्यक्षले पत्र लेख्नुपर्थ्याे?,’उनले भने।

उनले देश गम्भीर खेलबाड, खेलाँची र गैरजिम्मेवारको शिकार भइरहेको बताए। सरकारले निर्णयार्थ पेश गरेको विषयलाई रोक्छु भन्ने अधिकार सभामुखलाई नभएको भन्दै उनले सभामुखले यसमा बलमिच्याइँ गरिरहेको बताए। ‘यो गठबन्धनको पदलोलुपता हो, यसकुरामा गठबन्धन चुइँक्कसम्म बोल्न सक्दैन,’ उनले भने।