चीनको प्रशंसा गर्दै ओलीले गरे अमेरिकाको चर्को आलोचना
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनको प्रगति रोक्न र एसियालाई शक्ति केन्द्र बन्न नदिन अमेरिकाले इण्डो प्यासिफरिक रणनीति ल्याएको बताएका छन् । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दै अन्तर्राष्ट्रिय परिस्थितिबारे ओलीले यस्तो बताएका हुन् ।
“विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन देखा परेको छ । लामो समयसम्म युरोप अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय, शक्तिशाली राष्ट्रका रूपमा रुसको पुनरागमन, विक्स, सांघाई सहकार्य संगठन जस्ता क्षेत्रीय शक्ति र संगठनहरूले चुनौती दिएका छन्,” ओलीले भनेका छन्, “विश्व बहुध्रुवीय बन्दै गएको छ । चीनसँगको सम्बन्ध लगायत प्रश्नमा युरोपले सापेक्ष दृष्टिकोण राख्न थालेको छ ।”
उनले विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र बन्न थालेको र त्यसलाई रोक्ने प्रयास जारी रहेको उल्लेख गरेका छन् । “विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र बन्न थालेको छ । अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्टाट्रेजी यसै विषयतिर लक्षित छ,” ओलीले भने, “हालै अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको नयाँ सुरक्षा सम्झौता ‘कोकस’ले यस क्षेत्रमा तनाव सिर्जना गरेको छ ।”
उनले सूचना प्रविधिको विकासले मानव जिवनमा थुप्रै सकारात्मक प्रभाव पारेपनि सूचनाको एकाधिकार निश्चित कम्पनीमा रहँदा त्यसले जोखिमहरू निम्त्याएको बताए ।
राष्ट्र राष्ट्रबीच मात्र नभएर एउटै राष्ट्रमा पनि विभिन्न वर्गबीच विभेदका खाडल बढिरहेका बताएका ओलीले अल्पविकसित र विकाशील राष्ट्रहरूलाई अप्ठेरोमा पार्ने प्रयास भइरहेको बताए । “अल्पविकसित र विकासशील राष्ट्रहरूले पाउनुपर्ने सहयोग कटौती भएको छ,” ओलीले भनेका छन्, “संयुक्त राष्ट्रसंघ र यस अन्तर्गत मानव अधिकार परिषद्जस्ता संयन्त्रलाई निस्प्रभावि बनाउने प्रयास भइरहेको छ ।” उनले हतियारको उत्पादन र भण्डारणबाट विशवशान्ति नै खल्बल्याउने प्रयास भइरहेको बताएका छन् ।
“पारमाणविक, रासायनिक तथा जैविक आम विनासका हतियारको संग्रहले विश्वशान्तिमा जोखिम बढाएको छ,” ओलीले भनेका छन्, “ल्याटिन अमेरिका र विभन्न क्षेत्रमा बामपन्थी सरकारलाई असफल पार्ने षड्यन्त्र भइरहेको छ । यद्यपि त्यहाँ बामपन्थी आन्दोलन अझ उत्साहका साथ अघि बढेको छ ।”