प्रधानमन्त्री आक्रोशित भएपछि सहमतिमै अगाडि बढौँ भन्दै निस्किए प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेकपा सचिवालय बैठक बोलाउन आग्रह गर्न वालुवाटार पुगेका बहुमत सचिवालय सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झपारेर पठाएका छन् ।
बिहान बालुवाटार पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच केहीबेर चर्काचर्की नै परेको स्रोतले बताएको छ ।
बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की परेको हो । उनका अनुसार प्रधानमन्त्री ओलीले ‘जसले जे मन लाग्छ त्यहि गर्दै हिँडे भयो त किन चाहियो बेला न कुबेला बैठक ?’ भन्दै झर्किएका थिए ।
ओलीको भनाई उद्धृत गर्दै एक नेताले धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको र आफ्नाविरुद्ध जे पनि गर्न तयार भएकाले बैठकको आवस्यकता नभएको बताएका थिए ।
पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाइनुपर्ने ५ नेताको जोड छ । सोही अनुसार ५ नेताले ओलीलाई बुझाउन लिखित पत्र नै तयार पारेर बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर सामूहिक अनुरोध गर्ने निर्णयसँगै शनिबार धुम्बाराहीमै भेला भएर नेताहरु बालुवाटारका लागि हिँडेका थिए । लिखित पत्र बोकेर नेताहरु बालुवाटार पुगेपनि भेट भने सुखद हुन सकेन ।
सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए ।
‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल पार्न खोज्ने ?’ ओलीको आक्रोश थियो । ओलीले आफूलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत चेतावनी दिए ।
ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए ।
बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो । अन्तिममा विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्ने र यसमा ओली सहमत हुनपर्ने भन्दै ५ नेताहरु उठेर हिँडेका थिए ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।

