झगडा मिलाउन नसक्ने कांग्रेस सडकमा किन: ओली
ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन् । २१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा बिहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।
प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ । उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्याय सहितको प्रवन्ध गरिन्छ’, उनले भने ।
समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले समान अधिकार,समान अवसर,समान सुरक्षा र समान आत्म सम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ । ‘सामाजिक न्यायलाई स्थपित गर्दै नेपालीका सुखका चाहना पुरा गरिन्छ’, उनले भने ।
प्रधानमन्त्रीले केही राजनीतिक दल (कांग्रेस) बिचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिजाउँदै हिँडेको पनि जिकिर गरे । ‘यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमलल्याएका छन् ।’
प्रधानमन्त्री ओलीले तुल्सीलाललाई वाम आन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न उनको महत्वपूर्ण योगदान रहेको बताए ।