हिजो र आज फरक छ, विरोध गर्न पाइदैंन : ओली
काठमाडौं । शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विरोध गर्न निश्चित क्षेत्र तोकेको निर्णयको बचाउ गरेका छन् । प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै हिजो र आजको सन्दर्भ फरक छ भन्दै निषेधित क्षेत्र तोकिएको बताए ।
माइतीघरलगायतका अन्य ठाउँहरुमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयबारे कांग्रेस सांसद बालकृष्ण खाँडले प्रश्न गरेका थिए । उपत्यकाका महत्वपूर्ण क्षेत्रमा जनता भेला हुन नपाउने र आफ्ना कुरा प्रस्तुत गर्न नपाउने तथा बोल्न नपाउनेजस्ता कुरा उनले उठाएका थिए । प्रधानमन्त्रीलाई उनले पहिला कतिपय ठाउँमा गएर बोल्नुभएको र उहाँलाई त्यो कुरा जानकारी छ कि छैन भनेर सोधेका थिए।
विरोध गर्न पाउने अधिकारको प्रयोग विधिपूर्वक, कानुनसम्मत र समुचित ढंगले हुनुपर्छ भनेर प्रदर्शनस्थल तोकिएको जानकारी जवाफमा प्रधानमन्त्री ओलीले दिए ।
ओलीले जवाफमा उल्टै प्रतिप्रश्न गर्दै भने “तपाईं भारतमा जानुभयो भने देख्नुहुन्छ कहाँकहाँ विरोध गर्न पाइन्छ। कहाँकहाँ धर्ना र कहाँकहाँ जुलस गर्न पाइन्छ। राष्ट्रपति कार्यालय अगाडि चौर भेटिए त्यहाँ पनि नाराजुलुस गर्न पाइन्छ? देखेको छ कहिल्यै ? प्रधानमन्त्री कार्यालय अगाडि देख्नुभएको छ कहिल्यै? अथवा अरु ठाउँहरुमा देख्नु भएको छ कहिल्यै ? जन्तरमन्तरमा जहिले जानु भयो भने पनि देख्नुहुन्छ। त्यहाँ पनि विरोध गर्ने ठाउँ तोकेको हुन्छ।” हिजो तानाशाही व्यवस्था ढाल्न आफू पनि विरोधमा उत्रिएको उनले बताए ।