रुख रोप्ने काम तमासा हो - ओली - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

रुख रोप्ने काम तमासा हो – ओली



विभिन्न विषयमा टिप्पणी गरिरहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वृक्षारोपणबारे लामै मन्तब्य दिएका छन् । विदेशबाट फर्किएका नेपालीहरूलाई सम्बोधन गर्दै उनले यसबारे टिप्पणी गरेका हुन् । जलवायु परिवर्तनको असर कम गर्ने, वृक्षारोपण विस्तार गर्ने अभियान चलिरहँदा अध्यक्ष ओलीले भने त्यस विपरीत अभिव्यक्ति दिएका हुन् ।

यस क्रममा उनले वृक्षारोपण नेपालमा आवश्यक नभएको तर्क गरेका छन् । बिरुवाहरू आफैं उम्रिने र तिनलाई नमासिदिए मात्रै पनि पर्याप्त हुने उनको भनाइ थियो। ओलीले वृक्षारोपण कार्यक्रम थोरै पर्यवारण र आम्दानी भए पनि धेरै तामासा भएको टीप्पणी गरेका छन् । उनले वृक्षारोपणले खर्च बढाउने काम गरेको बताए ।

‘वृक्षारोपरण थेरै वातावरणीय सन्तुलनको प्रयास हो । अलिकति आर्थिक उन्नतीको प्रयास हो । धेरै मात्रामा भन्ने हो भने तामासा हो’ ओलीले भने, ‘एकातिर वन सिध्याउँदैछ अर्कोतर्फ वृक्षारोपण गर्दैछ । वृक्षारोपण गर्ने भनेर खर्च बढाउँदैछ । धान रोप्ने ठाउँमा सिसौ लगाएको छ । धानको उत्पादन बढ्ने भएन अन्तैबाट ल्याएको छ । चिनी बाहिरबाट ल्याएको छ । धान बाहिरबाट ल्याएको छ । यहाँ सिसौ लगाएको छ ।’

उनले धान खेत मासेर गरिएको सिसौ लगाउँदा प्रतिफल प्राप्त नभएको पनि गुनासो गरे । ‘देश ट्रयाक्टरमा प्रवेश गरेको छैन । प्रवेश गरे पनि चलाउने मानिस छैन । भाइ-छोराहरू विदेशमा छन् । सिसौ लगाएर छाडिएको छ । दस वर्षको बीउबाट उम्रिएको सिसौ दस वर्ष बाँच्छ त्यसपछि सुकेर मर्छ’ ओलीले भने, ‘त्यसले कुनै प्रतिफल दिँदैन । त्यो हुर्किन पाउँदैन ।’

उनले नेपाल देश जीवनमय भएकोले नयाँ बिरुवा लगाउनु नपर्ने र भएको नमास्दा मात्रै पुग्ने बताए । ‘हाम्रो देश जीवनमय देश छ । पहिले गंड्यौला, बाँदर, बाघभालु, हात्तिगैंडाको खेती पहिले कसले गर्थ्यो ? सालघारी, सिसौ, खयर कसले लगाएका हुन् ? यार्चागुम्बा कसले उमारेका हुन् ? आफैं उम्रिन्छ । निमा रुख कसले उमारे ? सबै आफैं उम्रिन्छ । झारपात आफैं उम्रिन्छ । फलफूल आफैं उम्रिन्छ’ ओलीले भने, ‘आरा बन्चरो लिएर जंगल नपस्ने हो भने दस वर्षमा देश जंगलमय भइसक्छ । बिरुवा उमार्नका लागि केही गर्नु नै पर्दैन । खाली नमासे पुग्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफैंले यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको दिन २०७५ साल जेठ ३ गते बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा वृक्षारोपण गर्दै एकताको खुसियाली मनाएका थिए । यस्तै तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले देशभरका कार्यकर्ताहरूलाई प्रत्येकले कम्तीमा दुईवटा बिरुवा रोप्न निर्देशन दिएका थिए ।