न्यायाधीशको परीक्षामा ८ जना मात्र पास
काठमाडौँ -लोकसेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परीक्षामा ८ जना पास भएका छन् । आयोगले लिएको परीक्षामा अदालत र सरकारी वकिलका रूपमा कार्यरतले मात्रै पास गरेका छन् । परीक्षामा सहभागी भएका कानुनव्यवसायीहरू भने सबै फेल भएका छन् ।
आयोगले गत १० देखि १४ चैतमा सञ्चालन गरेको परीक्षाबाट ८ जनाले लिखित परीक्षा पास गरेका हुन् । आयोगअनुसार आन्तरिकतर्फ ४ जना, खुल्ला तर्फ ३ जना र महिला तर्फ १ जना पास भएका छन् । आयोगअनुसार परीक्षामा ९५ जना सहभागी थिए ।
आन्तरिकतर्फ नविन जोशी, पदम पाण्डे, माधव घिमिरे र लोकबहादुर हमाल उत्तीर्ण भएका छन् । पदम र माधव सरकारी वकिल हुन् । नविन कानुनका उपसचिव हुन्। लोकबहादुर अदालतका उपसचिव हुन् ।
खुल्ला कोटाबाट महेश खनाल, शम्भु रेग्मी र शिवलाल पाण्डे पास भएका छन् । तीनै जना अदालतका उपसचिव हुन् । यसैगरी महिला कोटामा सीता शर्मा पास भएकी छन् । सीता कानुन उपसचिव हुन । उनीहरूको नियुक्ति अन्तर्वार्तापछि हुनेछ ।
जिल्ला न्यायाधीशको परीक्षा न्यायसेवा आयोगले लिने कानुनी प्रावधान छ । न्यायसेवा आयोगले परीक्षाको जिम्मा लोकसेवालाई दिएपछि लोकसेवाले परीक्षा सञ्चालन गरी नतिजा भने न्यायसेवा आयोगलाई उपलब्ध गराएको हो ।