वडा अध्यक्ष नै पक्राउ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

वडा अध्यक्ष नै पक्राउ



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका –९ का वडा अध्यक्ष पक्राउ परेका छन्।

एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाम उप–महानगरपालिकामा सञ्चालित एकिकृत सहरी विकास परियोजना अन्तर्गत सडक विस्तारको क्रममा पटक–पटक अवरोध सृजना गरेका अध्यक्ष परमेश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरधाम उप–महानगरपालिका – ९ मा बाटो विस्तारको क्रममा आफ्नो घर भत्काउन नमानी जवरजस्ती गर्न खोजेका वडा अध्यक्ष साहसहित उनको परिवारको केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएर घर भत्काएको छ। प्रहरीले वडा अध्यक्ष साहलाई उप–महानगरपालिकाकै आग्रहमा नियन्त्रणमा लिएर भत्काउन लगाईएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए।

जनकपुरधामको पिरारी चौक देखि थापा चौक सम्मको घर नभत्काइएको कारणले एकिकृत सहरी विकास आयोजना अन्तर्गत काममा अवरोध भईरहेको थियो। स्थानियवासीहरुले सडक निर्माणको काम हुनुपर्ने भन्दै सडक जाम गरेपछि आएको नगरपालिकाको डोजरले घर भत्काएका थिए। वडा अध्यक्ष साहसहित उनको परिवारहरु घर अगाडि आएर बसेपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिदै घर भत्काएका थिए।

लामो समयदेखि सडकमा परेको घर भत्काउन नमानेका कारण नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ। वडा अध्यक्ष साहले उपमहानगरकै दबाबमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्। यता सो टोलका स्थानीयबासीहरु सबैको घर भत्काएपनि वडा अध्यक्षको घर नभत्काएको विरोधमा धर्ना बस्दै आएका थिए।