बाराक ओबामाले गरे डोनाल्ड ट्रम्पको कडा आलोचना
काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयास अपर्याप्त भएको भन्दै कडा आलोचना गरेका छन् ।
एक निजी कन्फ्रेन्स कलमा ओबामाले अमेरिकाले हाल महामारी नियन्त्रणका लागि गरेका कामहरु ‘स्पष्टरुपमा अस्तव्यस्त विपद’ जस्तो रहेको बताएका हुन् ।
पूर्व राष्ट्रपति ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनको पक्षमा आफूले बिस्तारित भूमिका निर्वाह गर्न चाहेको पनि बताएका छन् ।
ओबामाले यसअघि नै राष्ट्रपति उम्मेदवारीमा आफ्नो समर्थन बाइडेनलाई रहेको घोषणा गरिसकेका छन् । बाइडन ओबामा कार्यकालमा उपराष्ट्रपति थिए ।
आफ्ना पूर्व कर्मचारी तथा सहयोगीहरुसँगको कन्फ्रेन्स कलको क्रममा ओबामाको पछिल्लो टिप्पणी आएको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ ।
ओबामाले आफ्ना पूर्व कर्मचारीहरुलाई बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गरेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी थप भयानक बनेको ओबामाले बताएका हुन् ।
उनले भनेका छन्, ‘सरकारले अति बलियो र राम्रो रणनीतिका साथ काम गरेको भए पनि कोरोना भाइरसको महामारी खराब नै हुने थियो । तर अहिलेको प्रशासनको प्रयास पर्याप्त नहुँदा त्यसलाई थप खराब बनाएको छ ।’
वर्तमान प्रशासनले महामारीमा पनि आफ्नो ‘स्वार्थ’ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको ओबामाको भनाई उद्धृत गर्दै कन्फ्रेन्स कलमा सहभागीले बताएका छन् ।
ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज गरिएको घटनाको पनि कडा आलोचना गरेका छन् ।
अमेरिकी न्याय विभागले सन् २०१६ को चुनावमा ट्रम्पलाई फाइदा हुने गरी रुसले गरेको भनिएको दखलमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोग लागेका फ्लीनमाथिको आरोप खारेज गरेको थियो ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख ९ हजार भन्दा धेरै छ । यस्तै कोभिड–१९ बाट अमेकिरामा ७८ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ ।